
मंगोलियामा आयोजना हुने आईची–नागोया एसियन पारा गेम्सका लागि नेपालबाट दुई खेलाडीले पारा तेक्वान्दो छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाली टोलीमा पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङ सहभागी हुनेछन् भने टोली शुक्रबार उलानबटार प्रस्थान गर्ने छ।
पलेशा गोबर्धन एसियाली पारा खेलकुदका लागि महिला ५७ केजीमुनि र्याङ्किङको आधारमा छनोट भइसकेकी छिन्। ४ जेठ, काठमाडौं। मंगोलियामा हुने आईची–नागोया एसियन पारा गेम्सअन्तर्गत पारा तेक्वान्दो छनोट प्रतियोगितामा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्न लागेका छन्।
छनोट प्रतियोगितामा ११ औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार मंगोलियाको उलानबटार प्रस्थान गर्ने तयारीमा छ। मे २६ का दिन हुने प्रतियोगिताको के–४४ क्याटगोरीअन्तर्गत अमिर र रेणु प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीका प्रशिक्षकमा कविराज नेगी लामा र व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ रहेका छन्।
फाइनल खेल खेल्ने खेलाडीले जापानमा हुने एसियाली पारा खेलकुदमा सहभागी हुने अवसर पाउनेछन्। के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि र्याङ्किङको आधारमा पलेशा गोबर्धन भने एसियाली पारा खेलकुदका लागि छनोट भइसकेकी छन्। पलेशा विश्व वरीयतामा १० औं स्थानमा रहेकीछिन्। यसअघि नेपाली खेलाडीहरूले मे २५ मा उलानबटारमै हुने ११ औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा पनि प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगितामा अमिर, रेणु र पलेशा सबैले खेल्नेछन्। टोलीलाई सफलताको शुभकामना दिंदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका पूर्व सदस्य भानबहादुर चन्दले सोमबार आयोजित कार्यक्रममा बिदाइ गरेका थिए।

