Skip to main content

‘नेपालको नीतिगत जटिलताले यूएईमा नेपाली वस्तु अपेक्षित बजार पाउन सकेन’

यूएईमा रहेका नेपाली उद्योगी–व्यवसायीहरूले नेपाली उत्पादनको गुणस्तर, प्याकेजिङ, लेबलिङ र आपूर्ति निरन्तरता समस्यामा रहेको बताएका छन्। व्यवसायीहरूले नेपालमा भन्सार नीति सुधार, एयर कार्गो शुल्कमा सहुलियत र द्विपक्षीय कानुनी सम्झौता आवश्यक भएको सुझाव दिएका छन्। राजदूत तेजबहादुर क्षेत्रीले नेपाल र यूएईबीच व्यापार, लगानी, ऊर्जा, कृषि र पर्यटन क्षेत्रमा व्यापक सम्भावना रहेको बताए। ४ जेठ, काठमाडौं।

युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली उद्योगी–व्यवसायीहरूले नेपालबाट निर्यात हुने वस्तुहरूको गुणस्तर, प्याकेजिङ, लेबलिङ, आपूर्ति निरन्तरता तथा सरकारी नीतिगत जटिलताका कारण नेपाली उत्पादनले यूएईको विशाल बजारमा अपेक्षित स्थान बनाउन नसकेको बताएका छन्। नेपाली दूतावास अबुधाबीले आयोजना गरेको ‘डायस्पोरा डाइनामिक्स : ब्रिजिङ द बोर्डर्स फ्रम माइग्रेसन टु मार्केट्स’ विषयक अन्तर्क्रियामा सहभागी व्यवसायीहरूले नेपाली उत्पादन निर्यात विस्तारका लागि संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन्।

कार्यक्रममा यूएईमा व्यापार, उत्पादन, आपूर्ति तथा लगानीमा संलग्न नेपाली उद्यमी, अर्थशास्त्री तथा अबुधाबीस्थित न्युयोर्क विश्वविद्यालयका व्यापार अनुसन्धानकर्ता सहभागी थिए। दूतावासका अनुसार कार्यक्रममा प्रवासबाट व्यवसायमा रूपान्तरण भएका नेपालीहरूले यूएईको बजारमा स्थापित हुने क्रममा भोगेका अनुभव, समस्या र सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। राजदूतावासकी काउन्सेलर तथा उपनियोग प्रमुख रञ्जिता दाहालका अनुसार नेपालबाट यूएईमा विशेषगरी कृषिजन्य उत्पादन आयात गरेर बिक्री गरिरहेका नेपाली व्यवसायीहरूले उत्पादन गुणस्तर, प्याकेजिङ, लेबलिङ र नियमित आपूर्तिमा समस्या रहेको बताएका छन्।

‘हाम्रा उत्पादन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गुणस्तर, आकर्षक प्याकेजिङ र उपयुक्त लेबलिङको अभावका कारण प्रतिस्पर्धी बजारमा टिक्न कठिन भइरहेको छ,’ दाहालले भनिन्, ‘एक पटक बजारमा चिनाए पनि ठूलो परिमाणमा निरन्तर आपूर्ति गर्न नसक्दा व्यापार विस्तारमा समस्या भएको छ।’ नेपालबाट पठाइने तरकारी तथा अन्य कृषिजन्य वस्तुमा क्वारेन्टिन प्रक्रिया र ढुवानीमा ढिलाइ हुँदा बजारमा पुग्दा ओइलिने र गुणस्तर खस्कने समस्या रहेको व्यवसायीहरूले बताएका थिए।

यूएई तथा खाडी मुलुकमा खाद्य सामग्री बिक्रीका लागि हलाल प्रमाणीकरण र अरबी भाषामा लेबल अनिवार्य भए पनि नेपालबाट निर्यात हुने धेरै उत्पादनमा त्यसको अभाव रहेको व्यवसायीले बताएका छन्। मान्यताप्राप्त हलाल प्रमाणपत्र नहुँदा नेपाली उत्पादनले मुस्लिम उपभोक्ताको बजारमा सहज पहुँच पाउन नसकेको समस्या रहेको उनीहरूले बताए। यूएईमा व्यवसाय सञ्चालन गरिरहेका धेरै नेपालीलाई स्थानीय कर प्रणाली, मूल्य अभिवृद्धि कर तथा अन्य कानुनी व्यवस्थाबारे उचित जानकारी नहुँदा समस्या भोग्नु परेको व्यवसायीहरूले बताएका छन्।

उनीहरूले व्यवसायीका लागि वित्तीय साक्षरता तथा कानुनी जानकारी सम्बन्धी कार्यक्रम सञ्चालन गर्न दूतावाससँग आग्रह गरेका छन्। सहभागीहरूले नेपालको भन्सार नीतिमा समयानुकूल सुधार, एयर कार्गो शुल्कमा सहुलियत, प्रदेशस्तरमा नवप्रवर्तन केन्द्र स्थापना, व्यवसाय गर्न सहज वातावरण निर्माण तथा निर्यात सम्बन्धी अवरोध हटाउन द्विपक्षीय कानुनी सम्झौता आवश्यक रहेको सुझाव दिएका छन्। उनीहरूले नेपाली श्रमिकको क्षमता अभिवृद्धि र कृषिजन्य वस्तुको गुणस्तर सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्। यूएईमा करिब ६ देखि ७ लाख नेपाली कार्यरत रहेका कारण नेपाली उत्पादनको राम्रो बजार देखिन्छ। यस्ता समस्या समाधान भएमा यूएईमा व्यापार गर्न सहज हुने उनीहरूको धारणा थियो।

कार्यक्रममा राजदूत तेजबहादुर क्षेत्रीले नेपाल र यूएईबीच व्यापार, लगानी, ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रमा व्यापक सम्भावना रहेको बताउँदै दुई देशबीच आवश्यक समझदारी तथा सम्झौताहरूलाई अन्तिम रूप दिने काम भइरहेको उल्लेख गरेका थिए। उनले आर्थिक तथा व्यापारिक सम्बन्धलाई सहज बनाउन दूतावासले नेपाल सरकारसँग नीतिगत र कानुनी सुधारमा सहजीकरणको भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरेका थिए।