
ब्राजिलले नेमारसहित २६ सदस्यीय फिफा विश्वकप २०२६ को अन्तिम टोली घोषणा गरेको छ। नेमारले चौथो पटक विश्वकप खेल्नेछन् र टोलीमा अनुभवी तथा युवा खेलाडीहरूको मिश्रण छ। ब्राजिल समूह सी मा हाइटी, मोरोक्को र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। ५ जेठ, काठमाडौं।
ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले सोमबार साँझ रियो दे जेनेरियोमा आयोजना गरिएको कार्यक्रममा प्रारम्भिक सूचीमा रहेका ५५ खेलाडीबाट २६ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेका छन्। ३४ वर्षिया नेमारले आफ्नो प्रारम्भिक क्लब सान्तोसका लागि पछिल्लो १८ महिनामा उत्कृष्ट प्रदर्शन गरेको थिए। लामो समय चोटसँग जुधिरहेका नेमार विश्वकप खेल्ने टोलीमा पर्छ कि पर्दैन भन्ने विषयमा ठूलो चासो थियो।
अन्तिम टोलीमा समावेश भएपछि नेमार अब चौथो पटक फिफा विश्वकप खेल्नेछन्। विश्वकप २०२६ जुन ११ देखि आगामी जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ। नेमारसहित ब्राजिलको फरवार्ड लाइनमा भिनिसियस जुनियर, राफिन्हा, एन्ड्रिक, इगोर थियागो, गाब्रीएल मार्टिनेली जस्ता खेलाडी पनि छन्।
फरवार्ड लाइनमा ब्राजिलसँग धेरै विकल्पहरू छन् तर टोलीमा पाँच जना मात्र मिडफिल्डर छन्। बर्नमाउथबाट खेल्ने रायन अन्तिम टोलीमा परे पनि चेल्सीबाट खेल्ने जोआओ पेड्रो टिममा छनोट हुन सकेनन्। चोटका कारण रियल मड्रिडका फरवार्ड रोड्रिगो, डिफेन्डर एडर मिलिटाओ र चेल्सीबाट खेल्ने इस्टाभियो विश्वकपबाट बाहिर भइसकेका छन्। समूह सी मा रहेको ब्राजिलले हाइटी, मोरोक्को र स्कटल्यान्डसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ।
ब्राजिलको अन्तिम टोली यसप्रकार छ:
गोलरक्षक: एलिसन, एडरसन, वेभरटन
डिफेन्डर: एलेक्स सान्ड्रो, ब्रेमर, डानिलो लुइस, डुगलास सान्तोस, गाब्रीए मग्ल्हाएस, रोजर इबानेज, लियो पेरेइरा, मार्कविन्होस
मिडफिल्डर: ब्रुनो गुइमारेज, कासेमिरो, डानिलो सान्तोस, फाबिन्हो, लुकास पक्का
फरवार्ड: एन्ड्रिक, गाब्रीएल मार्टिनेली, इगोर थियागो, लुइस हेनरिके, माथेउस कुञ्हा, नेमार, राफिन्हा, रायन, भिनिसियस जुुनियर

