पश्चिम एसियाको युद्धले विश्वव्यापी उद्योगमा २५ अर्ब डलरभन्दा बढी आर्थिक क्षति

इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको युद्धका कारण विश्वका उद्योग व्यवसायहरूले कम्तीमा २५ अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक नोक्सानी भोगेका छन्। विश्वका २७९ वटा प्रमुख कम्पनीहरूले आपूर्ति शृङ्खलामा अवरोध र इन्धन मूल्य वृद्धिलाई युद्धको मुख्य कारण ठहराउँदै आपतकालीन कदम चाल्न थालेका छन्। हवाई उड्डयन क्षेत्रमा १५ अर्ब डलरको क्षति भएको छ भने टोयोटा र पी एन्ड जी कम्पनीहरूले क्रमशः ४.३ अर्ब र १ अर्ब डलर नाफा गुमाउने चेतावनी दिएका छन्।
अमेरिका, युरोप र एसियाका सेयर बजारमा सूचीकृत कम्पनीहरूले सार्वजनिक गरेका वित्तीय विवरणहरूका आधारमा समाचार एजेन्सी रोयटर्सले सोमबार यस्तो प्रतिवेदन प्रकाशित गरेको हो। प्रतिवेदनअनुसार विश्वका प्रमुख बजारका कम्तीमा २७९ ठूला कम्पनीहरूले इरान युद्धका कारण आपूर्ति शृङ्खलामा देखिएको अवरोध र बढ्दो इन्धन मूल्यलाई प्रमुख कारण मान्दै आपतकालीन कदमहरू चाल्न थालेका छन्। युद्धको बढ्दो खर्चलाई मध्यनजर गर्दै केही कम्पनीहरूले उत्पादन मूल्य वृद्धि गरेका छन् भने कतिपयले आफ्नो उत्पादन कम गर्ने प्रयास गरिरहेका छन्।
ह्वर्लपुलका प्रमुख कार्यकारी अधिकृत मार्क बिट्जरले यसै महिनाको सुरुमा विश्लेषकहरूसँग संवाद गर्दै यस आर्थिक मन्दीलाई सन् २००८ को विश्वव्यापी वित्तीय संकटसँग तुलना गरेका छन्। ह्वर्लपुलले आफ्नो वार्षिक नाफाको पूर्वानुमानलाई आधा घटाउँदै लाभांश वितरण समेत रोकिएको जनाइएको छ। युरोपका १३० कम्पनीहरूले नाफा अनुमानमा कटौती गरेका छन् भने एसियाका ६१ र अमेरिकाका ५९ कम्पनीहरूले यसबाट असर पाएको देखिएको छ।
सबैभन्दा ठूलो नोक्सानी हवाई उड्डयन क्षेत्रमा परेको छ, जहाँ युद्धसम्बन्धी लागत मात्र १५ अर्ब डलर पुगेको छ। थप रूपमा, इरान युद्धको आर्थिक प्रभाव अमेरिकी अर्थतन्त्रमा पनि तीव्र रूपमा फैलिरहेका छन्। ब्राउन युनिभर्सिटीको ‘वाट्सन इन्स्टिच्युट’ले सार्वजनिक गरेको अर्को रिपोर्ट अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध सुरु गरेयता अमेरिकी नागरिकहरूले ग्यासोलिन र डिजेलखर्चमा ४१.५ अर्ब डलर बढी खर्च गरिसकेका छन्।

