Skip to main content

सांसदहरूले किसानका समस्याबारे सरकारको ध्यानाकर्षण गराए

प्रतिनिधि सभाको बैठकमा सांसदहरूले किसानका समस्या, कृषि उत्पादनको घट्दो मूल्य, मल अभाव, सिंचाइ संकट र ग्रामीण सडकको दुरावस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद नरेन्द्र कुमार गुप्ताले मलखादको पर्याप्त व्यवस्था नभएको र हुलाकी राजमार्गलाई बजेट प्राथमिकतामा नराखिएको विषय उठाएका छन्। ५ जेठ, काठमाडौं ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले किसानका समस्या, कृषि उत्पादनको घट्दो मूल्य, मल अभाव, सिंचाइ संकट र ग्रामीण सडकको दुरावस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद नरेन्द्र कुमार गुप्ताले खेतीको समय नजिकिँदै गर्दा पनि मलखादको पर्याप्त व्यवस्था हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले तराई–मधेशको यातायात पहुँच विस्तारका लागि महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग सरकारले बजेट प्राथमिकतामा नराखेको विषय पनि उठाए।

सांसद निराशा चौधरी डगौराले कृषिक्षेत्र दिनप्रतिदिन संकटतर्फ धकेलिँदै गएको बताइन्। किसानसँग लालपूर्जा भए पनि सहज रूपमा कृषि ऋण नपाउने समस्या उठाइन्। साथै मल, बिउ, सिंचाइ र बजार व्यवस्थापनको अभावले उत्पादन लागत बढिरहेको उनले उल्लेख गरिन्। उनले किसानले उत्पादनको उचित मूल्य नपाउँदा कृषिप्रति युवाको आकर्षण घट्दै गएको बताउँदै कञ्चनपुर–१ मा डुबान, कटान र पूर्वाधार समस्या दीर्घ पीडाका रूपमा रहेको पनि बताइन्।

‘नेपाली किसान प्रेम आचार्यकै पथमा हिँड्नुपर्ने हो ?’ सांसद प्रकाश पाठकले खेतीको लागत अत्यधिक बढेको तर उत्पादनको मूल्य घटेको भन्दै किसानको अवस्था चिन्ताजनक बनेको बताए। उनका अनुसार खेत जोत्न प्रतिघण्टा १८ सय रुपैयाँबाट ३ हजार रुपैयाँ पुगेको छ भने बिउको मूल्य पनि बढेको छ। मल अभाव र सिंचाइ समस्या उस्तै रहेको अवस्थामा मकैको मूल्य प्रतिकेजी ३५ रुपैयाँबाट २८ रुपैयाँमा झरेको उनले सुनाए।

खुला सिमानाका कारण विषादीयुक्त विदेशी कृषि उपजले नेपाली बजार कब्जा गरेको र घरेलु उत्पादन संकटमा परेको उनको भनाइ थियो। ‘खुला सिमानाका कारण विषादीयुक्त उपजले नेपाली बजार कब्जा गरिसक्यो। उपभोक्ता वस्तुको नाममा विष खाइरहेका छन्,’ उनले प्रश्न गरे। सांसद प्रशान्त उप्रेतीले मकवानपुरका कैलाश, राक्सिराङ, थाहा, इन्द्रसरोबर, भीमफेदी, गढी र मनहरी क्षेत्रको सडक अवस्था अत्यन्त दयनीय रहेको बताए।

सडक र सञ्चार समस्याका कारण बिरामी हुँदा एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था रहेको र उपचार नपाएर दुई जनाको ज्यान गएको घटना सुनाए। उनले थाहामा उत्पादन भएको आलुको मूल्य प्रतिकिलो १० रुपैयाँमा झरेको तर सडकको खराब अवस्थाका कारण काठमाडौंसम्म ल्याउन नसकिएको बताए। सांसद नितिमा भण्डारी कार्कीले सर्लाहीको मुख्य समस्या सिंचाइ रहेको बताइन्।

सुनकोशी–मरिन डाइभर्सन आयोजनाबाट जिल्लाको सिंचाइ समस्या समाधान हुने अपेक्षा रहे पनि हालको संरचनाले सर्लाही–१ को उत्तरी र दक्षिणी क्षेत्रमा रहेका धेरै खेतीयोग्य जमिन सिंचाइबाट वञ्चित हुने अवस्था देखिएको उनको भनाइ थियो। उनले डीपीआर परिवर्तन गर्न वा सिन्धुलीको कपिलाकोटबाट शाखा नहर निर्माणका लागि तत्काल योजना तयार गरी काम अघि बढाउन सरकारसँग माग गरिन्।

यसबाट कृषि उत्पादन वृद्धि हुनुका साथै युवाको विदेश पलायन रोक्न मद्दत पुग्ने उनले बताइन्।