राष्ट्रपति पुटिनका अनुसार रुस र चीनबीचको द्विपक्षीय व्यापार २०० अर्ब डलर पुगेको छ

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीचको सम्बन्ध इतिहासमै अभूतपूर्व स्तरमा पुगेको बताएका छन्। उनले बेइजिङमा आयोजना हुने वार्तामा दुई देशको समग्र विकास र सम्बन्धलाई अझ गहिराइका साथ अघि बढाउने विषय मुख्य एजेन्डा हुने जानकारी दिएका छन्। पुटिनका अनुसार, द्विपक्षीय व्यापारले २०० अर्ब अमेरिकी डलर पार गरेको छ र भुक्तानी अब राष्ट्रिय मुद्रामा हुन थालेको छ। ५ जेठ, काठमाडौं।
पुटिनले चीन भ्रमणको तयारी गर्दै एक भिडियो सन्देशमार्फत दुवै देशले सार्वभौमसत्ता र राजकीय अखण्डताका विषयमा निःशर्त सहयोग गर्ने पूर्ण तयारीमा रहेको बताएका छन्। चिनियाँ राष्ट्रपति सी चिनपिङको निमन्त्रणामा बेइजिङ भ्रमण गर्न पाउँदा उनले खुसी व्यक्त गरेका छन्। वार्षिक उच्चस्तरीय भेटघाट र वार्ताले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन र यसको असीमित सम्भावनालाई उजागर गर्न सहयोग पुर्याउने उनले बताए।
पुटिनले २५ वर्षअगाडि रुस र चीनबीच भएको “सद्भाव र मैत्रीपूर्ण सहयोग सन्धि” लाई सम्झदै आजको सम्बन्धलाई अभूतपूर्व उचाइमा पुगेको बताएका छन्। उनले भने, “सम्बन्ध आपसी समझदारी, विश्वास र समान लाभमा आधारित रहेको छ।” साथै, चिनियाँ राष्ट्रपति सीको दीर्घकालीन प्रतिबद्धतालाई प्रशंसा गर्दै पुटिनले दुवै देशका जनताबीच अझ नजिकआउन इच्छा व्यक्त गरेको बताएका छन्।

