
नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा ३ स्थान माथि उक्लेर २५औं स्थानमा पुगेका छन्। दीपेन्द्रको रेटिङ अंक १५९ पुगेको छ र उनले ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँगको शृंखलामा महत्वपूर्ण प्रदर्शन गरेका छन्। टी-२० आई अलराउन्डर वरियतामा दीपेन्द्र चौथो स्थानमै छन् भने सन्दीप लामिछाने ६८औं, ललित राजवंशी ७६औं र गुलशन झा ८७औं स्थानमा उक्लिएका छन्।
६ जेठ, काठमाडौं — नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा फेरि ३ स्थान माथि उक्लिएका छन्। आईसीसीले मंगलबारसम्मको ताजा अपडेटअनुसार बुधबार जारी गरेको नयाँ वरियतामा दीपेन्द्र ३ स्थान सुधार गर्दै २५औं स्थानमा पुगेका हुन्। उनका रेटिङ अंक १५९ पुगेका छन्।
गत साता दीपेन्द्र ३१औं स्थानबाट २८औं स्थानमा उक्लिएका थिए । त्यसबेला उनको रेटिङ अंक १५३ थियो र अहिलेसम्म ६ अंकले वृद्धि भएको छ। घरेलु मैदानमा भएको लिग २ शृंखलामा गरेको प्रदर्शनले उनको वरियतामा सुधार ल्याएको हो।
यसअघि ओमान र यूएईसँग भएको चार खेलको शृंखलामा भने उनले २ अर्धशतक र १ शतक प्रहार गर्दै महत्वपूर्ण भूमिका निभाएका थिए। उनले ४ विकेट पनि लिए। हाल जारी नेपाल, अमेरिका र स्कटल्यान्डबीचको शृंखला खेलमा पनि उनले राम्रो प्रदर्शन गरिरहेका छन्। स्कटल्यान्डसँगको पहिलो खेलमा उनले ५५ रन बनाएका थिए।
अमेरिकासँगको खेलमा ४ विकेट लिए पनि ब्याटिङमा उनको पालो आएन। त्यसपछि सोमबार स्कटल्यान्डसँगको खेलमा ब्याटिङमा २ रन मात्र बनाउँदा बलिङमा १ विकेट लिए।
टी-२० आई अलराउन्डर वरियतामा दीपेन्द्र चौथो स्थानमै रहेका छन्। अलराउन्डरको सूचीमा सन्दीप लामिछाने ३ स्थान उक्लेर ६८औं स्थानमा पुगेका छन्। ललित राजवंशी १२ स्थानले उक्लिएर ७६औं स्थानमा छन् भने गुलशन झा १५ स्थान माथि उक्लेर ८७औं स्थानमा रहेका छन्। करण केसी भने ५ स्थान तल झरेर ८९औं स्थानमा पुग्नु भएको छ।

