
नेपाल बिजनेस समिट २०२६ काठमाडौंमा नेपाल बिजनेस इन्स्टिच्युट, निक्की, सिबिफिन र फिनको संयुक्त पहलमा सफलतापूर्वक सम्पन्न भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आर्थिक नीति र शासन व्यवस्थामा आमूल परिवर्तन ल्याएको र निजी क्षेत्रलाई लगानी गर्न आग्रह गरेको बताएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले द्रुत तथा दिगो आर्थिक विकासका लागि सरकारको दृष्टिकोण प्रस्तुत गर्दै लगानी प्रवद्र्धन र प्रविधि साझेदारीमा जोड दिएका छन्।
नेपाल बिजनेस समिट २०२६ काठमाडौंमा सम्पन्न भएको यस समिट नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई), नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की), कन्फेडेरेसन अफ बैंकिङ एन्ड फाइनान्सियल इन्स्टिच्युसन्स नेपाल (सिबिफिन) र फेडेरेसन अफ एक्सपोर्ट इन्टरप्रेन्योर्स नेपाल (फिन) को संयुक्त पहलमा आयोजना गरिएको हो। समिटका मुख्य वक्ता एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले आर्थिक नीति र शासन व्यवस्थामा आमूल परिवर्तन ल्याउन जनताको स्पष्ट जनादेश पाएको र यसको प्रभाव सार्वजनिक तथा निजी क्षेत्रले अनुभूत गरिरहेकाले प्रगति भइरहेको बताएका छन्।
निक्कीका कार्यवाहक अध्यक्ष कुणाल कयालले नीति निर्माता, व्यापारिक नेताहरु, वित्तीय संस्था, उद्यमी तथा विकास साझेदारहरुलाई साझा विकासका चुनौतीहरू समाधान गर्न एउटै मञ्चमा ल्याउनुको महत्वप्रति प्रकाश पारे। व्यवसाय, ऊर्जा, पूर्वाधार, सीमापार सम्पर्कता र एकीकृत वित्तीय सहजीकरणका क्षेत्रमा नेपाल र भारतबीच व्यापारिक सम्बन्ध मजबुत बनाउन निक्की सक्रिय रहेको बताएका छन्। उनले सरकार र निजी क्षेत्रबीच संवाद सहजीकरण, सीमापार साझेदारी प्रवर्द्धन र आर्थिक सहयोग अभिवृद्धि गर्ने निक्कीको प्रतिबद्धता दोहोर्याए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले विगत पाँच वर्षमा नेपालबाट ९७ अर्ब रुपैयाँ लाभांश बहिर्गमन र लगानी आप्रवाह ६० अर्ब रुपैयाँ भएको तथ्यांक उल्लेख गर्दै नेपालमा लगानीका अवसर अझै कायम रहेको बताएका छन्। भारतका लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्माले भारतको छिमेकी पहिलो नीति र क्षेत्रीय आपूर्ति श्रृंखला सम्बन्धी रणनीतिक पहलहरुले नेपाललाई सकारात्मक अवस्थामै राखेको बताए। सम्मेलनको समापन सत्रमा परराष्ट्र मन्त्री शिशिर खनालले सुशासन, नीतिगत पूर्वानुमानयोग्य र संरचनात्मक सुधारको आधारमा संचालित द्रुत र दिगो आर्थिक विकासका लागि सरकारको दृष्टिकोणलाई प्रस्तुत गरे।

