नेपालमा ‘म्याग्नेसियम ग्लाइसिनेट’ युक्त पूरक आहार उत्पादनहरू अवैध, बिक्रीमा कडा कारबाही हुने

सरकारले म्याग्नेसियम ग्लाइसिनेट युक्त कुनै पनि पूरक आहार पदार्थ नेपालमा बिक्री–वितरण गर्न अनुमति नदिएको कुरा स्पष्ट पारेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालसम्म म्याग्नेसियम ग्लाइसिनेट समावेश भएका उत्पादन दर्ता नभएको र अनुमति नदिएको जनाएको छ। विभागले दर्ता नभएका उत्पादनहरू बिक्री–वितरणमा कानुनी कारबाही गरिने र उपभोक्तालाई सचेत रहन आह्वान गरेको छ। ७ जेठ, काठमाडौं।
सरकारले ‘म्याग्नेसियम ग्लाइसिनेट’ युक्त कुनै पनि पूरक आहार पदार्थ बिक्री–वितरण गर्ने अनुमति नदिएको स्पष्ट पारेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालमा म्याग्नेसियम ग्लाइसिनेटसँग सम्बन्धित भ्रमात्मक विज्ञापनप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ। विभागका अनुसार ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ र ‘आहारपूरक खाद्य पदार्थ नियमन कार्यविधि, २०७२’ अनुसार कुनै पनि फुड, हेल्थ, न्यूट्रिसनल, डाइट्री सप्लिमेन्ट, न्यूट्रास्यूटिकल वा प्रोबायोटिक उत्पादन बिक्री–वितरण गर्नुअघि विभागमा दर्ता अनिवार्य छ।
तर, म्याग्नेसियम ग्लाइसिनेट मोलिक्युल भएका कुनै पनि उत्पादनलाई अहिलेसम्म आहारपूरक खाद्य पदार्थको रूपमा दर्ता गरी बिक्री–वितरणको अनुमति दिइएको छैन, विभागले जनाएको छ। ‘विभागमा दर्ता नभएको म्याग्नेसियम ग्लाइसिनेट मोलिक्युल भएको कुनै पनि उत्पादन आहारपूरक खाद्य पदार्थको नाममा बिक्री–वितरण गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कडा कारबाही गरिनेछ,’ सूचनामा उल्लेख छ। विभागले उपभोक्तालाई यस्ता अनुमति नपाएका र प्रमाणित नभएका पूरक खाद्य पदार्थहरूको प्रयोग गर्दा सचेत हुन आग्रह गरेको छ।

