
देशको पूर्वी भागमा इबोला भाइरसको प्रकोप फैलिएको कारण डीआर कङ्गोले फिफा विश्वकप २०२६ खेल्न जाने राष्ट्रिय फुटबल टोलीको राजधानी किन्शासामा हुने तालिम स्थगित गरेको छ। अहिलेसम्म यो भाइरसले करिब ६०० जनालाई सङ्क्रमित गरेको छ र सङ्क्रमितमध्ये १३९ जनाको मृत्यु भइसकेको छ।
डीआर कङ्गोले राष्ट्रिय टोलीलाई तालिमका लागि बेल्जियम पठाउने योजना बनाएको छ। डीआर कङ्गो १९७४ पछि पहिलोपटक विश्वकपमा सहभागी हुँदैछ। यद्यपि, डब्ल्यूएचओले यो भाइरसको सङ्क्रमण अझै महामारीको स्तरमा नपुगेको जनाएको छ।
डीआर कङ्गोको राष्ट्रिय टोलीका प्रवक्ता जेरी कालेमोका अनुसार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई विश्वकप सुरु हुनुअघि युरोपमा हुने खेलहरू पुरानो योजनाअनुसार नै हुने जानकारी दिएका छन्। डीआर कङ्गोले बेल्जियमको लिउजेमा ३ जुनमा डेन्मार्कसँग र मार्बेलामा ९ जुनमा चिली विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने कार्यक्रम बनाएको छ।
हाल ‘बुन्डिबुग्यो’ नामक दुर्लभ इबोला भाइरसका कारण प्रकोप फैलिएको छ। सरकारी निकायहरूले यस प्रकोप नियन्त्रण गर्न प्रयास गरिरहेका छन्। यस भाइरसविरुद्ध अहिलेसम्म कुनै खोप उपलब्ध छैन। डब्ल्यूएचओका अनुसार खोप तयार गर्न करिब नौ महिनासम्म समय लाग्न सक्छ। संयुक्त राज्य अमेरिकाले विगत २१ दिनमा डीआर कङ्गो, युगान्डा वा दक्षिण सुडान भ्रमण गरेका गैर-अमेरिकी नागरिकहरूको अमेरिका प्रवेशमा रोक लगाएको छ।

