हर्क साम्पाङ: प्रधानमन्त्री बालेन संसदमा कहिले उपस्थित भएर जवाफ दिनेछन्? श्रम संस्कृति पार्टीका नेता कारबाहीमा पर्न सक्ने सम्भावना कस्तो छ

प्रतिनिधिसभामा प्लाकार्डसहित उपस्थित भई सरकारको विरोध गरिरहेको श्रम संस्कृति पार्टीका सांसदहरूको व्यवहारलाई “मर्यादाविपरीत” ठहर गर्दै सभामुख डोलप्रसाद अर्यालले “व्यवहार सच्याउन” चेतावनी दिएका छन्। सो चेतावनीपछि यसको पक्ष र विपक्षमा विभिन्न धारणा आएका छन्।
अघिल्लो दिनको बैठकमा सभामुखले चेतावनी दिएपछि बिहीबार प्रतिनिधिसभा बैठकमा फेरि प्लाकार्डसहित उपस्थित भएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्रीलाई संसदमा आएर आफूहरूले उठाएका मुद्दाहरूको जवाफ दिनुपर्ने मांग दोहोर्याएका छन्। संसदमा बोल्दै नेपाली कांग्रेसका सचेतकले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नीलो स्कार्फ लगाएर प्रदर्शन गरेको स्मरण गराएका छन् र सदनलाई मर्यादित बनाउन प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराई ‘रुलिङ’ गरिनुपर्ने माग गरेका छन्।
प्लाकार्डसहित श्रम संस्कृति पार्टीका सांसदहरूले गरिरहेको विरोधको विषयमा विज्ञ र विश्लेषकहरू एकमत छैनन्। संसद सचिवालयका एक पूर्वसचिवले साङ्केतिक रूपमा विरोध जनाउने सांसदहरूको अधिकार रहेको बताए पनि अर्का सचिवले सदनलाई बहस र वैचारिक छलफलको क्षेत्र बनाइनुपर्नेमा जोड दिएका छन्। बिहीबारै सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई भेटेर विपक्षी दलहरूले संसदमा उठाइरहेका विषयमा ध्यानाकर्षण गराएका थिए।
त्यस क्रममा भएको संवाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी गराउँदै आफूले “सहजीकरण गरिरहेको” जानकारी दलहरूलाई गराएको सभामुखको सचिवालयले जनाएको छ। यद्यपि प्रधानमन्त्री बालेन जवाफ दिन कहिले संसदमा जान्छन् भन्ने स्पष्ट छैन। सभामुखसँगको छलफलपछि पनि प्रधानमन्त्री प्रतिनिधिसभाको बैठकमा उपस्थित नभएको भन्दै बिहीबारको दोस्रो बैठकमा विपक्षी सांसदहरूले वेल घेराउ गरेका थिए।

