
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भारतमा हुने साफ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला फुटबल टोलीलाई बिदाई गरेका छन्। नेपालले साफ महिला च्याम्पियनसिपको पहिलो खेल मे २५ मा भुटानसँग र दोस्रो खेल मे ३१ मा श्रीलंका सामना गर्नेछ। कुल छ टोली सहभागी हुने साफ महिला च्याम्पियनसिपमा नेपाल समूह ए मा रहेको छ र फाइनल खेल जुन ६ गते हुनेछ।
भारतमा मे २५ (जेठ ११ गते) देखि सुरु हुने साफ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा एक कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बिदाई गरेका हुन्। मन्त्री पोखरेलले टोलीले प्रतिस्पर्धा जितेर फर्कने विश्वास व्यक्त गरेका छन्।
बिदाई कार्यक्रममा मन्त्रीका सल्लाहकार सिद्धि व्यन्जनकार र राजु सिंह, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहता, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष प्रकज विक्रम नेम्वाङ लगायतले सहभागिता जनाएका थिए। दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्तर्गत हुने उक्त च्याम्पियनसिपमा नेपाल पहिलो खेल मे २५ मा भुटानसँग खेल्नेछ।
नेपालले दोस्रो खेल मे ३१ मा श्रीलंका विरुद्ध खेल्नेछ। छवटा टोली सहभागी रहेको च्याम्पियनसिपको समूह ए मा नेपाल, श्रीलंका र भुटान छन् भने समूह बी मा आयोजक भारत, बंगलादेश र माल्दिभ्स छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।अखिल नेपाल फुटबल संघ (एन्फा) ले गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय नेपाली टोली पहिले नै घोषणा गरिसकेको छ।
२३ सदस्यीय नेपाली टोलीमा गोलकिपरः एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ; डिफेन्डरः पूजा राना, गीता राना, विमला विक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा ठोकर, सबिना चौधरी; मिडफिल्डरः रेनुका नगरकोटी, दीपा शाही, प्रीति राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल, अनिता केसी; फर्वार्डः रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई, मीना देउवा समावेश छन्।

