Skip to main content

नेपालले मलेसियाविरुद्ध दोस्रो टी-२० आईमा ७ विकेटको विजयी यात्रा शुरू गर्‍यो

नेपालले एसियन गेम्सको तयारीका लागि मलेसियासँगको दोस्रो टी-२० आई खेल ७ विकेटले जितेको छ। मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो। सम्झना खड्काले अविजित ३९ रन बनाइन् भने कविता कुँवरले अविजित १९ रन थपिन्। सोनी पाख्रिनले १२ रन बनाइन्।

मलेसियाका लागि नुर दानिया, आइसा एलिसा र आइना हमिजाले १-१ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो। मलेसियाका लागि आइना हमिजाले १७ रन बनाइन् भने धनुश्रीले १५ रन जोडेकी थिइन्। आरियाना नताशा १३ रनमा अविजित रहिन्।

नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले समान रूपमा २-२ विकेट लिए भने पूजा महतो र सीता रानामगरले १-१ विकेट हात पारे। यसअघि पहिलो खेलमा नेपालले ६८ रनको लक्ष्य पछ्याउँदा संघर्षपूर्ण जित हात पारेको थियो।