
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरमै खेलिरहेको श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अमेरिकाले टस जितेर बलिङ रोजेको हो। नेपालले पछिल्लो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन।
८ जेठ, काठमाडौं। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो। नेपालले अघिल्लो खेलमा स्कटल्यान्डलाई पराजित गरेको पहिलो रोजाइको टोलीलाई निरन्तरता दिएको छ। नेपाल र अमेरिका दुवैले पछिल्लो खेलमा स्कटल्यान्डलाई हराएको थिए।
दुवै टोली लिगमा २८औं खेल खेल्दै छन्। अमेरिका २७ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा छ। समान खेलबाट नेपाल २२ अंकसहित पाँचौ स्थानमा छ। आजको खेल जिते नेपालको शीर्ष चारमा पर्ने सम्भावना थप मजबूत हुनेछ। घरेलु मैदानमा भइरहेको लिग २ को अन्तिम खेल जित्दै नेपालले घरेलु मैदानको श्रृंखलालाई सुखद अन्त्य गर्ने अवसर पाएको छ।
यसअघि नेपालले युएई र ओमान समावेश श्रृंखलामा चार खेलमध्ये ३ खेल जितेर ६ अंक जोडेको थियो। अहिले भइरहेको श्रृंखलामा नेपालले ३ खेल खेल्दा २ जित र १ हारको नतिजा निकालेको थियो। अब अन्तिम खेल पनि जित्दै यस श्रृंखलामा तेस्रो जित गर्ने लक्ष्यमा नेपाल छ।

