Skip to main content

सात वर्षदेखि अलपत्र रहेका धर्मशाला र विवाहमण्डप निर्माणको अवस्थाः सात वर्ष बित्दा पनि अधुरोपना

९ जेठ, सप्तरी । सप्तरी जिल्लाको बोदेबरसाईन नगरपालिकामा तीनवटा विवाह मण्डप र धर्मशालाको निर्माण सात वर्षदेखि अलपत्र छ। मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा सशर्त अनुदान स्वरूप चारवटा विवाह मण्डप र धर्मशाला निर्माणका लागि बोदेबरसाईन नगरपालिकामा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। यसमध्ये वडा नं २ स्थित दिनाराम दिनाभद्री मन्दिर परिसरमा रहेको धर्मशालाको निर्माण मात्रै सम्पन्न भएको छ भने बाँकी तीनवटै विवाह मण्डप र धर्मशालाको निर्माण अधुरा छन्।

बोदबरसाईन नगरपालिका–१० खडकपुर हटिया फिल्डमा विवाह मण्डप र धर्मशाला निर्माणका लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो, जसमा २१ लाख ६६ हजार ९०५ रुपैयाँ खर्च भइसकेको छ। तर काम पुरा नभएकाले स्थानीयले ती संरचनालाई प्रयोग गर्न पाएका छैनन्। त्यस्तै, बोदेबरसाईन–३ गौरामा निर्माणाधीन विवाह मण्डप र धर्मशालाका लागि २५ लाख विनियोजित रकम मध्ये ५ लाख ७३ हजार ८८ रुपैयाँ खर्च गरी बाँकी काम अलपत्र छ। बोदबरसाईन–७ सुगापोखरीमा पनि विवाह मण्डप र धर्मशाला निर्माणका लागि थप २५ लाख विनियोजित गरिएको थियो, जसमा १५ लाख ७९ हजार २९७ रुपैयाँ खर्च भए तापनि कार्य अझै अधुरो नै छ। यी सम्पूर्ण योजनाहरू उपभोक्ता समितिहरू मार्फत कार्यान्वयनमा ल्याइएको थियो। विवाह लगायतका सामाजिक क्रियाकलापलाई ध्यानमा राख्दै धर्मशाला र विवाह मण्डप निर्माण योजनाहरू ल्याइएको थियो, तर सात वर्षभन्दा लामो समय बित्दा पनि निर्माण सम्पन्न नभएकाले स्थानीयवासीहरूमा निराशा छ।