
९ जेठ, जलेश्वर (महोत्तरी) । पछिल्ला चार महिनामा महोत्तरीमा २०९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्। माघ महिनादेखि चार महिनामा आमाको नामबाट नागरिकता लिनेको संख्या २०९ पुगेको जानकारी प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले दिएका छन्। गत पुस ११ गतेको मन्त्रिपरिषद्को बैठकले बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने निर्णय गरेको थियो। त्यसपछि पुस २१ मा नेपाल राजपत्रमा सूचना प्रकाशित भयो। त्यसपछिका दिनहरूमा गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गरी यो व्यवस्था लागू गर्न निर्देशन दिएको थियो।
सोही क्रममा आवश्यक सबै कागजी प्रक्रिया पूरा गरेर माघ ६ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट आमाको नाममा नागरिकता वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए। जनसंख्याका आधारमा नेपाली नागरिक आमाबाट नेपालमै जन्मिएका र बाबुको पहिचान नखुलेका व्यक्तिहरूले आवश्यक स्वघोषणा र प्रक्रिया पूरा गरेर वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन्, उनले जानकारी गराए। –रासस

