बुद्धिचाल महासंघको विशेष साधारण सभा दुई ठाउँमा, नेतृत्वले अविश्वास प्रस्तावको सामना गर्ने

अखिल नेपाल बुद्धिचाल महासंघमा नेतृत्वमाथि परेको अविश्वास प्रस्तावमा छलफल गर्न आइतबार दुई ठाउँमा विशेष साधारण सभा हुँदैछ। अविश्वास प्रस्तावमा अध्यक्ष हेराकाजी महर्जनको कार्यशैली, आर्थिक अपारदर्शिता र निर्णय प्रक्रियामा प्रश्न उठाइएको छ। महासंघको बेरुजु रकम ५४ लाखभन्दा माथि पुगेको र बजेट वितरणमा पक्षपात भएको आरोप लगाइएको छ। १० जेठ, काठमाडौं।
पछिल्लो समय बढ्दै गएको आन्तरिक विवादका कारण महासंघ नेतृत्वमाथि अविश्वास प्रस्ताव प्रस्तुत भएको थियो। यस प्रस्तावपछि विशेष सभा बोलाइएको हो। महासंघ भित्रको आन्तरिक विवाद तीव्र हुँदा अहिले विशेष साधारण सभा दुई छुट्टाछुट्टै स्थानमा हुने अवस्था सिर्जना भएको छ। महासंघ अध्यक्ष हेराकाजी महर्जनको पक्ष मकवानपुरको हेटौंडामा विशेष सभा राखेको छ भने, महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध अविश्वास प्रस्ताव ल्याएका अर्को समूहले काठमाडौंको स्वयम्भुस्थित स्वयम्भु पिस होटलमा विशेष सभा आयोजना गरेको छ।
अविश्वास प्रस्तावको सामना गर्ने हेराकाजी महर्जनको टोली हेटौंडामा छ भने महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई नेतृत्वको समूह काठमाडौंमा सभा गर्ने तयारीमा छ। महासंघका प्रवक्ता राजु ताम्राकारका अनुसार, कार्यसमितिको निर्णयअनुसार महासंघको विशेष साधारण सभा जेठ १० गते हेटौंडाको क्लब हेटौंडा, हेटौंडा–४, मकवानपुरमा सञ्चालन हुनेछ। अर्को समूहले पनि काठमाडौंमा विशेष सभा गर्ने सूचना दिएको छ।
वैशाख १२ गते वरिष्ठ उपाध्यक्ष दिपेन राईले अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध ४० जना प्रतिनिधिहरूको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेश गरेका थिए। अविश्वास प्रस्तावमाथि वैशाख ३० मा बसेको बैठकले विधानको परिच्छेद ७, दफा २२, उपदफा २ अनुसार छलफल र निर्णय गर्न सम्बन्धित कार्यसमितिले ३५ दिनभित्र विशेष साधारण सभा बस्ने गरी सूचना दिनुपर्ने निर्णय गरेको थियो। फिडे प्रतिनिधि अमित खन्ना नेपालमा केन्द्रीय कार्यसमितिले बहुमतले अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न विशेष साधारण सभा मकवानपुरको हेटौंडामा गर्ने निर्णय गरेको छ भनी प्रवक्ता ताम्राकारले बताएका छन्।
यद्यपि सो स्थानमा केहीले लिखित असहमति जनाएको पनि उनले बताएका छन्। विशेष साधारण सभामा निष्पक्ष पर्यवेक्षणका लागि वर्ल्ड चेस फेडेरेशन तथा राष्ट्रिय खेलकुद परिषदलाई लिखित जानकारी दिइएको छ र फिडेका प्रतिनिधि अमित खन्ना नेपाल आइपुगेका छन्। नेतृत्वविरुद्ध अविश्वास प्रस्ताव पेश भएदेखि महासंघभित्र आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको अविश्वास खुलेर देखिएको छ। हेराकाजी महर्जनमाथि प्रश्न उठ्दै अर्को समूहले अध्यक्ष हेराकाजी महर्जनको कार्यशैली, आर्थिक अपारदर्शिता र निर्णय प्रक्रियामा गम्भीर प्रश्न उठाएको छ।
वरिष्ठ उपाध्यक्ष दिपेन राई र अन्यले महासंघमा आर्थिक अनियमितता, अपारदर्शी खर्च र जिम्मेवारी नपुगेको आरोप लगाउँदै आएका छन्। महासंघको कोषाध्यक्ष ताराबहादुर रानाभाटका अनुसार महासंघको बेरुजु रकम ५४ लाख रुपैयाँभन्दा बढी छ। राखेपबाट आउने बजेट सही समयमा नफरकाउने, अन्तर्राष्ट्रिय सहयोगबाट प्राप्त कोषको हिसाबकिताब नदेखाउने लगायत समस्या बढ्दै गएको आरोप छ। खेलाडी छनोट, प्रतियोगितामा सहभागिता र बजेट वितरणमा समेत पक्षपात भएको आरोपसमेत लागेको छ।

