Skip to main content

काभ्रेमा बैंकिङ र सहकारी ठगीका मुद्दा बढ्दो

सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन बिष्ट १० जेठ, काभ्रेपलाञ्चोक । पछिल्ला वर्षहरूमा काभ्रेपलाञ्चोक जिल्लामा बैंकिङ (चेक बाउन्स) तथा ठगीसम्बन्धी मुद्दाहरु वृद्धिदरले वृद्धि भएका छन् । चालु आर्थिक वर्षका दस महिनाको अवधिमा जिल्लामा बैंकिङ र ठगीसम्बन्धी कुल १७६ मुद्दा दर्ता भएका छन् । ती मुद्दाहरुमा २२ करोड ६७ लाख ३३ हजार ०४३ रुपैयाँ बराबरको दाबी गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रबिन बिष्टले जानकारी दिएअनुसार चालु आर्थिक वर्षको दस महिनामा प्रहरी कार्यालयमा बैंकिङ तथा ठगीसम्बन्धी १७६ मुद्दा दर्ता गरिएको छ । तीमध्ये १२५ मुद्दाको छानबिन पूर्णरुपमा सम्पन्न भइसकेको छ भने ५१ मुद्दा अझै छानबिन अवस्थामा छन् ।

प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार साउन महिनामा २८, भदौमा २९, असोजमा २०, कात्तिकमा २४, मंसिरमा ८, पुसमा १२, माघमा ७, फागुनमा ५, चैतमा ९, बैशाखमा २५ र जेठ महिनाको ७ गतेसम्म ९ मुद्दा दर्ता भएका छन् । यस अवधिमा दर्ता भएका मध्ये साउनमा २८, भदौमा २९, असोजमा २०, कात्तिकमा २३, मंसिरमा ८, पुसमा ८ र फागुन महिनामा १ मुद्दा छानबिन सकिएको छ । चालु आर्थिक वर्षका दस महिनामा बैंकिङ तथा ठगी कसुरमा ३७ पुरुष र ७ महिला गरी कुल ४४ जनालाई पक्राउ गरिएको छ ।

सहकारी ठगीका ६४ करोड ९५ लाख हिनामिनाका सात उजुरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा बनेपा क्षेत्रमा सञ्चालनमा रहेका सातवटा सहकारी र तीका संचालकहरू विरुद्ध सहकारी ठगीको मुद्दा दर्ता गरिएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्षसम्म सहकारी ठगीका ६४ करोड ९५ लाख ३९ हजार ३८ रुपैयाँ बराबरको हिनामिना सम्बन्धी सात उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालयमा पुण्यश्वरी बचतका संचालकले ३ करोड ८० लाख ९३ हजार ४१८ रुपैयाँ, गरुड बचतका १२ करोड ३२ लाख ४५ हजार २०५ रुपैयाँ, युनिटी बचतका ३ करोड १९ लाख १८ हजार ५२५ रुपैयाँ हिनामिना गरेको उजुरी परेको छ ।

प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार हालसम्म बनेपास्थित पुण्यश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक कुमार गौतम, गरुड बचत तथा ऋण सहकारीका अध्यक्ष वासुदेव खड्कासहित पाँच जनालाई, युनिटी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रलाल श्रेष्ठसहित चार जना संचालकलाई अदालतको आदेश पछि पुर्पक्षकक्षका लागि थुनामा राखिएको छ । त्यस्तै, सहकारी ठगी विषयक मुद्दामा बनेपाका यु.एम. बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रुशन श्रेष्ठ र अग्नि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र श्रेष्ठसहित दुई जनालाई पुर्पक्षकक्ष थुनामा राखिएको छ ।