Skip to main content

केनको ह्याट्रिकबाट बायर्नले जर्मन डीएफबी पोकलको उपाधि जित्यो

बायर्न म्युनिखले स्टुटगार्टलाई ३–० ले पराजित गर्दै जर्मन डीएफबी पोकलको उपाधि आफ्नो नाम गरेको छ। फाइनल खेलमा ह्यारी केनले ह्याट्रिक पूरा गर्दै बायर्नलाई लिग र कप ‘डबल’ हासिल गराएको छ। केनले ५५औं, ८०औं मिनेट र इन्जुरी समयमा गोल गर्दै लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका छन्।

१० जेठ, काठमाडौं। बायर्न म्युनिखले स्टुटगार्टमाथि जित हासिल गर्दै जर्मन डीएफबी पोकल उपाधि विजयी भएको छ। फाइनलमा ह्यारी केनको ह्याट्रिकको मद्दतले बायर्न म्युनिखले स्टुटगार्टलाई ३–० अन्तरले पराजित गर्दै लिग र कप ‘डबल’ पूरा गरेको हो। बर्लिनको ओलम्पियास्टाडियममा शनिबार राति सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। तर दोस्रो हाफमा केनले उत्कृष्ट प्रदर्शन गरेर ५५औं मिनेटमा पहिलो गोल गरी बायर्नलाई अग्रता दिलाए। ८०औं मिनेटमा दोस्रो गोल थपेका केनले इन्जुरी समयमा पेनाल्टीबाट तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे। दोस्रो गोलमा लुइस डियाजले असिस्ट दिएका थिए। यससँगै केनले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका छन्। उनले यो सिजन बायर्न म्युनिखका लागि ५१ खेलमा ६१ गोल गरेका छन् जसले उनको उत्कृष्ट प्रदर्शन पुष्टि गर्छ। यसअघि बायर्न म्युनिखले बुन्डेसलिगा र जर्मन सुपरकप पनि जितिसकेको छ। यो जितसँगै बायर्न म्युनिखले आफ्नो इतिहासमा २१औं पटक जर्मन कप जित्दै सन् २०१९–२० पछि पहिलो पटक डीएफबी पोकल उपाधि जितेको हो।