
गत ५० वर्षयता विश्वका कतिपय क्षेत्रहरूमा मानिसहरूको खान्की बढिरहेको छ, र त्यससँगै मोटोपनाको दर पनि बढ्दो छ। औद्योगिक खानेकुरा देख्दा हाम्रो मुख रसाउँछ। तर पनि, हामी कसरी अत्यधिक खानबाट बचेर स्वस्थ रहन सक्छौं? बाहिरी खानेकुराले मानिसहरूको खान्की बढाएको ज्वलन्त उदाहरण अमेरिकामा देखिन्छ। त्यहाँ विशेष गरी सन् १९८० को दशकपछि मानिसहरूले घर बाहिर खाने अभ्यास बढाए, र परिकार बेच्ने व्यवसायहरूबीचको प्रतिस्पर्धाले पनि खान्की बढाएको छ। “यदि एउटा पास्ता पाइने ठाउँमा थोरै मात्रामा पास्ता दिइयो भने, अर्कोले त्योभन्दा बढी दिन थाल्यो। अनि मानिसहरू धेरै खाने ठाउँमा जान थाले,” न्यूयोर्क विश्वविद्यालयकी डा. लिस योङले फुड चेन कार्यक्रमसँग बताएकी छिन्। “खानेकुरा पनि निकै सस्तो भएकोले, थप खाना दिँदा अतिरिक्त शुल्क लिई दुबै पक्षलाई फाइदा पुग्छ। तपाईंलाई छुट पाएजस्तो लाग्छ र उनीहरूले पनि थप पैसा पाउँछन्,” उनी भन्छिन्। साओ पाउलो विश्वविद्यालयकी डा. मार्ले अल्भारेङ्ग भन्छिन्, यस्तो प्रचलन ब्राजिलसहित विकासशील देशहरूमा पनि फैलिएको छ। “प्याकेट र प्रशोधित खानेकुरामा यस्तो प्रायः देखिन्छ, तर चामल, गेडागुडी, पिठोजस्ता परम्परागत खानेकुरामा यस्तो छुट पाउन सकिँदैन,” उनी बताउँछिन्। डा. योङ यसलाई खानेकुराको अमेरिकीकरण भन्छिन्। “म्याकडोनल्ड, क्यान्डी बार जस्ता अमेरिकी किसिमका खानेकुराहरू अन्य देशहरूमा पनि आइपुगेका छन् र तिनको आकार पनि बढ्न थालेको छ। जब तपाईं उच्च प्रशोधित खानेकुरा खानुहुन्छ, तपाईंको खान्कीमा अतिरिक्त ५०० क्यालोरी थपिन्छ।” धेरै मात्रामा खानु खान्की बढाउँछ? एक अध्ययनले देखाएको छ कि खानेकुराको मात्रा धेरै दिइएमा मानिसहरूले धेरै नै खान्छन्। एउटा विश्लेषणले दोब्बर खानेकुरा दिँदा मानिसहरूले ३५ प्रतिशत बढी खान्छन्। “यो प्लेटमा दिइएको सबै कुरा खानेसँग सम्बन्धित छैन। तर धेरै खाना दिइएमा मानिसहरूले बढी खाने गर्छन्,” अस्ट्रेलियाको सिड्नीस्थित न्यू साउथ वेल्स विश्वविद्यालयकी प्राध्यापक लेनी भार्टेनीयन बताउँछन्। तर पेट भरेको नहुनुका कारण कति खानु उपयुक्त हुँदोरहेछ भनेर पत्ता लगाउन सबैभन्दा कठीन हुन्छ। हामी अनिश्चित हुँदाको बेला खानेकुराको मात्रामा ध्यान केन्द्रित गर्ने गर्छौं। “हामी प्रायः पूर्ण भोक नलागेको बेला, तर खाली नभएको अवस्थामा हुन्छौं। यस्तो अवस्थामा हामीलाई प्राप्त हुने सङ्केतहरू बुझ्न सक्दैनौं,” प्राध्यापक भार्टेनीयन भन्छन्। सानो प्लेटको प्रयोग पनि उपाय हो? सानो प्लेटमा खानुले धेरै खानुको समस्याको समाधान हुने आशा गरिएको थियो। साना प्लेटमा कम खाना राख्दा पनि त्यो धेरै जस्तो देखिन्छ र मानिसहरूलाई धेरै खाएको जस्तो लाग्न सक्ने ठानिएको थियो। तर अनुसन्धानले यसको समर्थन गरेको छैन। “मानिसहरूको खानाको मात्रा सानो वा ठूलो प्लेटसँग सम्बन्धित छैन। उपलब्ध खाना धेरै छ कि छैन भन्ने कुराले मात्रै प्रभाव पार्दछ,” खानपान र तौल मनोविज्ञानका विज्ञ प्राध्यापक भार्टेनीयन भन्छन्। अर्थात्, खाना राखिएको भाँडो टेबुलमा छ वा हाम्रो पहुँचमा छ भने, मानिसहरूले प्लेट सानो भए पनि बारम्बार खान्छन्। तसर्थ, खाना पस्किएपछि बाँकी खाना देखिने ठाउँबाट हटाएर राख्नु आवश्यक छ। “टाढा राख्नुहोस्, ताकि यो हाम्रो पहुँचमा नहोस्,” प्राध्यापक भन्छन्। खानेकुराको मात्रा कसरी नियन्त्रण गर्ने? सबैभन्दा महत्वपूर्ण कुरा मानिसहरूले आफ्नो भोक सुनेर आफूले के खाइरहेको छु भन्नेमा सजग हुनु हो, विज्ञहरूले बताउँछन्। “मानिसहरू आफ्नो प्लेटमा के राखिएको छ भन्नेमा खासै ध्यान दिँदैनन्। उनीहरू आफ्ना भोकलाई बुझ्दैनन् र आफूलाई कतिवेला पेट भरिएको छ भन्नेमा पनि सचेत हुँदैनन्,” न्यूयोर्क विश्वविद्यालयकी डा. लिस योङ भन्छिन्। त्यससँगै, खानाको मात्रा घटबढ गर्दा, खासगरि धेरै खाना थप्दा अझ बढी सजग हुनुपर्छ। “मेरो सुझाव भनेको ध्यान दिनु हो। मात्रा जाँच्छ, त्यसको आधार बुझ्नुभयो भने उद्योगहरूले प्रचार र विविध कार्यहरूमा के गरिरहेका छन् भन्ने बुझ्ने प्रयास गर्नुपर्छ,” डा. मार्ले अल्भारेङ्ग बताउँछिन्। खाजा कसरी खाने? “यदि तपाईंले एउटा सिङ्गो स्याउ वा फलफूलको एक टुक्रा जस्तो प्याकेटमा नभएको खानेकुरा खाँदै हुनुहुन्छ भने त्यसको मात्राले ठूलो फरक पार्दैन किनभने त्यो सेवन स्वास्थ्यवर्धक हुन्छ,” डा. योङ भन्छिन्। तर लेबल लगाइसकेका खानेकुरा खाँदा कति उपयुक्त हुन्छ भन्ने कुरा प्याकेटमा नै लेखिन्छ। त्यसका साथै, प्याकेट खोलेर खानाको स्वरूप र तपाईंले साँच्चिकै के खान लाग्नुभएको छ भन्ने बुझ्न पनि सकिन्छ। “मानिसहरू भन्छन्, ‘म बिहानको खानामा सानो एक बटुका सिरियल मात्रै खान्छु।’ तर यदि उनीहरूलाई एउटा भाँडोमा खन्याएर त्यसपछि प्याकेटमा सिफारिस गरिएका उचित मात्रा हेर्न लगाइयो भने उनीहरूले सिफारिसभन्दा तीन गुणा बढी खाइरहेका हुनसक्छन्,” उनी भन्छिन्। “सिफारिस गरिए अनुसार मात्र खन्याएर खानुहोस्। त्यसले तपाईंलाई राम्रो हुनेछ।”

