Skip to main content

सभामुख र सांसदको अधिकार: प्रतिनिधिसभामा अभद्र व्यवहारको विषयमा छलफल

प्रतिनिधिसभामा सभामुखको अनुमतिविना बोलेको र अभद्र व्यवहार गरेको भन्दै सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई सचेत गराए। प्रतिनिधिसभा नियमावली अनुसार संसद्‌मा अभद्र व्यवहार गर्ने सांसदलाई सभामुखले चेतावनी दिने, बैठकबाट निष्कासन गर्ने र निलम्बन गर्न सक्ने कानूनी व्यवस्था छ। नेपाली संसद्‌मा विगतमा पनि सांसदहरूले तोडफोड गर्ने, कपडा खोल्ने र मन्त्रीलाई झापड हान्ने जस्ता अमर्यादित कार्य गरेका इतिहास छन्। ८ जेठ, काठमाडौं। श्रम संस्कृति पार्टीले पछिल्लो समय प्रतिनिधिसभामा प्लेकार्ड देखाएर विरोध प्रदर्शन गर्दै आएको छ। पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सहितका सात जना सांसदले संसद्मा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को उपस्थिति खोजेर यो बजेट अधिवेशनका अधिकांश बैठकमा विरोध गरे। १२ गते सम्मका लागि अहिले संसद्को बैठक स्थगित भएको छ। तर श्रम संस्कृतिको पार्टीको विरोध सकिएको छैन। प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्नुपर्ने नियम पालना हुनुपर्ने उनीहरूको माग छ।

आकस्मिक समय, शून्य समय र विशेष समयमा सांसद्ले उठाएका प्रश्नहरूको जवाफ सात दिन भित्र दिनुपर्ने कानुनी व्यवस्था छ। यसको पनि पालना भइरहेको छैन। यस सन्दर्भमा श्रम संस्कृति पार्टीका अध्यक्ष राईको प्रश्न छ, ‘सभामुखले सरकारलाई नियम पालना गर्न लगाउनु पर्दैन? प्रधानमन्त्री र मन्त्रीहरूले नियम पालना नगरे पनि हुन्छ?’ सभामुखले प्रधानमन्त्री र मन्त्रीहरूलाई नियम पालना गराउन नसकेको भनेर श्रम संस्कृति पार्टीका सांसदले आफैँ प्रतिनिधिसभा नियमावलीका कतिपय नियम नमानेरै प्रश्न गर्न थालेका छन्। संसद्‌मा बोल्न सभामुखसँग अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था छ। तर, गत बुधबार हर्क साम्पाङले सभामुखसँग समय नै नलिई सरकारलाई भटाभट प्रश्न गरेको थिए। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सनाले सभामा उठेका प्रश्नहरूको जवाफ दिएका थिए। लगत्तै साम्पाङले सभामुखसँग समय नै नलिएर सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै ‘देशभर गुणस्तरीय इन्टरनेट सेवा कहिले पुग्छ? फोरजी सेवा पुगेको भनिएको ठाउँमा टुजी पनि चल्दैन किन?’ भनेर सोधे।

साम्पाङको यस्तो व्यवहारबाट सभामुख डोलप्रसाद अर्याल रुष्ट भए। सभामुखसँग समय नमागेरै बोल्नु मर्यादाविपरीत रहेको स्मरण गराए। सञ्चारमन्त्री तिमिल्सनापछि रोष्टममा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव पुगे। उनले सभामा उठेका प्रश्नहरूको जवाफ दिए। यादवले जवाफ सके लगत्तै फेरि श्रम संस्कृति पार्टीका आरेन राई उठे। सभामुखले स्पष्टीकरणको व्यवस्था नरहेको बताए। हर्क साम्पाङ फेरि उठे। लाखौं युवा रोजगारीका लागि विदेशमा रहेको उल्लेख गर्दै यी विषयमा श्रम मन्त्रीलाई प्रश्न नसोधेर कसलाई सोध्ने भन्दै जंगिए। त्यसपछि सभामुखले साम्पाङलाई आफूले पटक–पटक रुलिङ गरेको स्मरण गराए। ‘मैले तीन पटक रुलिङ गरिसकेँ। मर्यादामा बस्नुस्’ सभामुखले भने। साम्पाङले मानेनन्। त्यसपछि सभामुखले प्रतिनिधिसभा नियमावलीको नियम २०, नियम २१, नियम ३० देखाए। र साम्पाङसहितका श्रम संस्कृति पार्टीका सांसदहरूको व्यवहारलाई अभद्र व्यवहारको संज्ञा दिएका छन्।