Skip to main content

नेपालको सेमिफाइनल यात्रा: प्रशिक्षक भन्छन्, जुन टिम आए पनि तयार छौं

समाचार सारांश: माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबारको खेलमा नेपालकी कप्तान निरुता ठगुन्नाले सर्वाधिक १४ अंक जोडिन् भने मिडलब्लकर एलिशा मानन्धरले राष्ट्रिय टोलीमा डेब्यु गरिन्। मुख्य प्रशिक्षक जगदिश भट्टले सेमिफाइनलअगाडि पाइने तीन दिनको विश्राममा कमजोरी सच्याएर बलियो रणनीति बनाउने बताए। १० जेठ, काठमाडौं।

माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ए को पहिलो खेलमै चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पाँच सेटमा पुगेर पराजित भए तापनि त्यसपछि लगातार दुई खेल जित्दै नेपाल सेमिफाइनल पुग्ने समूहको पहिलो टोली बन्यो। नेपालले शनिबार किर्गिस्तानलाई ३-० को सेटमा हराएर पहिलो जित हासिल गरेको थियो। माल्दिभ्सलाई पनि अपेक्षा अनुसार ३-० कै नतिजामा पराजित गरेपछि नेपालले ७ अंक जोड्यो। अब सोमबार हुने भारत र किर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टोली टुङ्गिनेछ र समूह विजेता तथा उपविजेताको निर्णय पनि हुनेछ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको समूह ए को अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २५-१२, २५-९, २५-२० ले हरायो। यस खेलमा नेपालकी कप्तान निरुता ठगुन्नाले आफ्नो पुरानो लय देखाउने प्रयास गरिन् भने सुमित्रा रेग्मी लगायत अन्य खेलाडीहरुले पनि राम्रो साथ दिए। पहिलो दुई सेट खेलेकी निरुताले सर्वाधिक १४ अंक जोडेकी छन्। सुमित्राले तीन सेट खेल्दै ११ अंक जोडिन्। दोस्रो र तेस्रो सेट खेलेकी सलिना बुढा मगरले ८ अंक जोडिन्। मुख्य प्रशिक्षक जगदिश भट्टले सेमिफाइनल पुग्ने पक्का भएपछि टोलीका सबै खेलाडीलाई मौका दिएका थिए। ‘हामीले खेल निको निको नभएसम्म सबै खेलाडीलाई अवसर दिने सोच बनाएका थियौं। सलिना (लिबेरो) लाई आराम चाहिएकोले खेलेनौं। अरु सबैलाई मौका दिएका छौं,’ भट्टले खेलपछिको पत्रकार संवादमा भने।

‘अहिलेसम्म भएका खेलहरुलाई लिएर सबैलाई सेमिफाइनलको लागि तयार पारेका छौं। अब त्यो रणनीति सेमिफाइनलमा लागू गर्नेछौं।’ यस खेलबाट मिडलब्लकर एलिशा मानन्धरले पनि राष्ट्रिय टोलीमा डेब्यु गरिन्। यस पटक सिनियर टोलीमा ६ नयाँ खेलाडी समावेश गरिएका थिए, जसमा पाँचले भारत बिरुद्ध पहिलो खेलमै डेब्यु गरेका थिए भने एलिशाले तेस्रो खेलमा डेब्युको अवसर पाइसकिन्। पहिलो सेटमा माल्दिभ्सले नेपाललाई केही चुनौती दिए तापनि कप्तान निरुताको उत्कृष्ट प्रदर्शनमा नेपालले पहिलो सेट सहजै जितेर अग्रता बनाएको थियो। दोस्रो सेट जित्न नेपाललाई खास चुनौती थिएन। तेस्रो सेटमा नेपालले बेन्चका खेलाडीलाई बढी अवसर दिँदा माल्दिभ्सले पनि अंक जोड्ने मौका प्राप्त गर्यो। यस खेलमा उत्कृष्ट प्रदर्शन गर्दै कप्तान निरुता प्लेयर अफ दि म्याच घोषित भइन्। समूह चरणका सबै तीन खेल खेलिसकेको नेपालले अब तीन दिनको विश्रामपछि जेठ १४ गते सेमिफाइनल खेल्नेछ। सेमिफाइनलअघि धेरै दिन विश्राम पाएकोले यस अवधिमा रणनीति तयार पार्ने र गल्तीहरू सच्याउने मुख्य प्रशिक्षक भट्टले बताए।

‘सेमिफाइनलअघि तीन दिनको विश्राम हुन्छ। अब सेमिफाइनलमा खेल्ने टिमका लागि रणनीति तयार गर्नेछौँ र विनिङ मानसिकताका साथ जान्छौं,’ भट्टले बताए। भट्टले विश्व कपमा ठूला टिमले पहिलो खेल हारेर अन्ततः उपाधि जितेको उदाहरण दिँदै जुन टिम सेमिफाइनलमा आए पनि नेपाल तयार रहेको बताए। ‘पहिलो खेल हारेर पनि सिक्ने कुरा हुन्छ। विश्व कपमा पनि ठूला टिमहरूले नयाँ टिमसँग हार्दा पछि विश्व कप जितेका छन्। त्यसैले केहीले अविश्वास गरेको हुन सक्छ। हाम्रो टोली पनि सेमिफाइनल पुग्न सक्ने चार टिममध्ये कमजोर छैन,’ भट्टले भने, ‘जुन टिमले आफ्नो योजना अनुसार कोर्टमा जान्छ र आफ्नो बलियो पक्ष लागू गर्छ, त्यो टिमले नतिजा निकाल्छ र त्यो क्षमता हामीसँग छ। केही कमी भए पनि दर्शकहरूको समर्थनले पूरा हुनेछ।’ सेमिफाइनलमा नेपालले राम्रो रिच र धेरै अनुभव भएका टिमसँग खेल्ने भएकाले जिता मानसिकता सहित जानुपर्ने प्रशिक्षक भट्टले बताए। ‘सेमिफाइनलमा हामीभन्दा अधिक रिच, स्पिड र अनुभव भएका खेलाडीसँग खेल्नेछौं। हामी २-३ दिन ट्रेनिङमा ब्लक र सर्भिसमा काम गर्नेछौं। विनिङ माइन्डसेट र मोटिभेसनमा कुनै कमी नराख्नेछौं।’ काजाखस्तान र इरानले एसियन स्तरदेखि काभासम्म विभिन्न प्रतियोगितामा खेल्दै आएका हुन् र उनीहरू धेरै अनुभवी रहेका कारण सेमिफाइनलमा जुन टिम पनि आए फरक नपर्ने भट्टले बताए।