बेलायतमा गोर्खा कप फुटबल प्रतियोगिता सम्पन्न, राङभाङ समाज र तामाङ समाजले उपाधि जिते

बेलायतमा झण्डै २० हजार दर्शकको उपस्थितिमा ५६ टोली सहभागी भएर २४औं गोर्खा कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको पुरुषतर्फ राङभाङ समाज यूकेले उपाधि जित्दै ३५०० पाउण्ड पुरस्कार प्राप्त गरेको छ भने गुरुजी एलिट उपविजेताको स्थानमा रह्यो। महिलातर्फ तामाङ समाज एफसी र भेट्रानतर्फ एफसी ०४ ले आ-आफ्नो वर्गमा उपाधि हात पार्न सफल भएका छन्। ९ जेठ, लन्डन।
बेलायतस्थित नेपाली समुदायको ठूलो फुटबल प्रतियोगिता गोर्खा कपको २४औं संस्करण आइतबार सम्पन्न भएको छ। झण्डै २० हजार दर्शकको उपस्थितिमा सम्पन्न भएको प्रतियोगितामा यस वर्ष ५६ टोलीले प्रतिस्पर्धा गरेका थिए। अल्डरसटस्थित क्वीन्स एभिन्यू मैदानमा भएको प्रतियोगिताको पुरुष (युवा) तर्फ राङभाङ समाज यूके विजेता बनेको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै राङभाङ समाजले उपाधिसहित ३५०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
गुरुजी एलिट उपविजेता बन्दै २००० पाउण्डसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। भेट्रानतर्फ एफसी ०४ ले उपाधि जित्दा प्लमस्टिड एफसी उपविजेता बनेको छ। विजेताले १८०० पाउण्ड र उपविजेताले १२०० पाउण्ड पुरस्कार पाएका छन्। महिलातर्फ तामाङ समाज एफसीले उपाधि जित्यो भने राउन्डबोल्ट एफसी उपविजेता बन्यो। विजेता तामाङ समाजले ६०० पाउण्ड र उपविजेताले ४०० पाउण्ड पुरस्कार प्राप्त गरे।
यसपटक प्रतियोगिता फुटबलमा मात्र सीमित नहोस् भनेर थप विविध कार्यक्रमहरु पनि भएको थियो। मैदानमा खाना, च्यारिटी, आइसक्रिम, केक, बबल टी, लत्ताकपडासहित १२६ स्टलहरु लागेका थिए भने बालबालिकाका लागि छुट्टै ‘फन फेयर’ पनि आयोजना गरिएको थियो। प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि क्यालुम स्टेवार्ट, तमुधि युकेका अध्यक्ष जुमकाजी गुरुङ, डा. हेमराज शर्मा लगायतले पुरस्कार वितरण गरेका थिए। आयोजक तमुधिं यूकेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

