
चार पटकको विजेता इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएपछि गियानलुइजी डोनारुम्मा जस्ता स्टार खेलाडीहरू उक्त प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। ब्राजिलका रोड्रिगो र जर्मनीका सर्ज नाब्रीसहित धेरै पोष्टर खेलाडीहरू चोटका कारण सन् २०२६ को फिफा विश्वकप गुमाउने सूचीमा परेका छन्। अर्जेन्टिनाका पाउलो डिबला र फ्रान्सका एडुवार्डो कामाभिङ्गा जस्ता चर्चित खेलाडीहरू पनि आफ्नो राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन्। ११ जेठ, काठमाडौं। विश्व फुटबलको सर्वश्रेष्ठ प्रतियोगिता फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा त्यहाँ खेल्ने टोली र खेलाडीहरूलाई लिएर चर्चा बढिरहेको छ। सहभागी ४८ टोलीहरू हाल विश्वकपका लागि प्रारम्भिक टोलीहरू घोषणा गर्ने क्रममा छन्। धेरै टोलीहरूले २६ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेका छन् भने केहीले प्रारम्भिक टोली मात्रै सार्वजनिक गरेका छन्। फिफाले जुन २ सम्म सबै टोलीले आफ्नो अन्तिम सूची बुझाउनुपर्ने नियमन जारी गरिसकेको छ। आगामी विश्वकपमा सहभागी हुने टोलीहरूले प्रारम्भिक सूची सार्वजनिक गर्दा केही चर्चित खेलाडीहरूको नाम उल्लेख नभएको छ। कतिपय खेलाडीहरू आफ्नो देशले छनोट नपाउँदा विश्वकपमा देखिँदैनन् भने कतिपयले चोटका कारण पनि विश्वकप गुमाउनुपरिरहेको छ।
अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदै गरेको विश्वकपमा अहिलेसम्मकै अधिकतम ४८ टोली सहभागिता जनाउने भए पनि पूर्व विजेता इटाली सहित केही बलिया टोली विश्वकप छनोटमा सफल हुन सकेनन् जसका कारण त्यहाँका खेलाडीहरू पनि विश्वकप खेल्ने सुनौलो अवसरबाट वञ्चित भए। चार पटकको विजेता इटाली प्लेअफ चरणमा बोस्निया एण्ड हर्जगोभिनासँग पराजित भएपछि लगातार तेस्रो पटक विश्वकप छनोटबाट बाहिरियो। इटालीको अनुपस्थितिमा गोलकिपर गियानलुइजी डोनारुम्मा, मिडफिल्डर सान्ड्रो टोनाली र डिफेन्डर बास्तोनी जस्ता प्रतिभाशाली खेलाडीहरू विश्वकपमा उपस्थित हुने छैनन्। त्यस्तै, अफ्रिकाका दुई प्रमुख राष्ट्र क्यामरुन र नाइजेरियाले पनि यस वर्षको विश्वकप छनोट पूरा गर्न सकेनन्। पाँच पटक अफ्रिकी कप अफ नेसन्सको उपाधि जितेको क्यामरुनबाट ब्राउन एमबुएमा, र नाइजेरियाबाट फारवार्ड भिक्टोर ओसिमहेन र एडेमोला लुकम्यानजस्ता महत्वपूर्ण खेलाडीहरू पनि विश्वकपमा देखिँदैनन्।

