Skip to main content

गोरखा मिडियालाई १५ दिनभित्र घर खाली गर्न आदेश, ग्यालेक्सी टिभीका सामान लिलाम गर्ने चेतावनी

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.लाई घर खाली गर्न आदेश जारी गरेको छ। महानगरले मंगलबार ‘ग्यालेक्सी फोर के’ टेलिभिजन रहेको घर खाली गर्न कम्पनीलाई १५ दिने सूचना दिएको हो। सूचनामा निर्दिष्ट अवधिभित्र कानूनअनुसार सरसमान लैजान नभए महानगरपालिकाले विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० अनुसार लिलाम गरिने उल्लेख गरिएको छ। ‘निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भएकाले ग्यालेक्सी फोर केमा रहेका सामानहरू लिलाम गराइयोस् भन्ने वादी मृगेन्द्र मिश्रको मिति २०८३ वैशाख २१ मा निवेदन पेश भएकाले यो सूचना प्रकाशित गरिएको हो,’ अन्तिम पटकका लागि जारी सूचनामा उल्लेख छ।

२८ साउन २०८२ मा उच्च अदालत पाटनले दुई महिनाभित्र न्यायिक समितिबाट बसेको निर्णय कार्यान्वयन गर्न भन्ने आदेश महानगरपालिका सहितको नाममा परमादेश जारी गरेको थियो। अदालतको आदेश अनुसार १४ कात्तिक २०८२ मा महानगरबाट टोली खटाएर निर्णय अमलमा ल्याइएको सूचनामा उल्लेख छ। त्यसअघि मिश्रले भाडा असुल गरी घर जग्गा खाली गराउन भन्दै गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईको नाममा महानगरपालिकाको न्यायिक समितिमा मुद्दा चलाएका थिए। समितिले १४ कात्तिक २०८१ मा माग दाबी अनुसारको घर जग्गा बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ अनुसार प्रतिवादीबाट भर्ने र घर जग्गा समेत खाली गराउने निर्णय गरेकी थिइन्। जीबी राईले सहकारी संस्थाका रकम अनियमित रूपमा अपचलन गरी गोरखा मिडिया प्रा.लि.बाट सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा लगानी गरेका हुन्। यो खुलासा भएपछि उनी हाल फरार छन्। जीबीसँग मिलेर ग्यालेक्सी टेलिभिजनमा काम गरेका रास्वपा सभापति रवि लामिछाने पनि सहकारी संस्थाको रकम अपचलनको मुद्दामा रहेको बताइएको छ।