Skip to main content

प्रतियोगिता गर्न अनुमति अनिवार्य: त्रिभुवन विश्वविद्यालयले क्यानसँग सम्झौता विस्तार गर्ने प्रक्रिया अघि बढायो

त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान)सँग छलफल गरी त्रिवि क्रिकेट मैदानको सम्झौता विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ। त्रिवि क्रिकेट मैदानको २५ वर्षे भाडा सम्झौता क्यानसँग वैशाख महिनामा सकिएको थियो। रजिस्ट्रार महानन्द चालिसेले विश्वविद्यालयसँग सहमति र खेल तालिका पेश गर्नुपर्ने बताउनु भयो।

क्यानसँगको सम्झौता सकिएसँगै त्रिविले मैदान खाली गर्न पत्र पठाएको थियो। तर शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सार्वजनिक रूपमा क्यानसँग सम्झौता विस्तार हुने घोषणा गरेपछि त्रिवि लचक भएको थियो। रजिस्ट्रार चालिसेका अनुसार, विश्वविद्यालयसँग सहमति लिएपछि मात्रै प्रतियोगिता गर्ने गरी सम्झौता हुनेछ।

‘अर्को विकल्प नभएसम्म विश्वविद्यालयबाट अनुमति लिएर मात्रै प्रतियोगिता गर्नुपर्छ। क्यानले पहिले नै खेल तालिका बनाएर विश्वविद्यालयमा पेश गर्नुपर्छ र अनुमति पाएपछि प्रतियोगिता हुनेछ,’ उनले बताउनुभयो, ‘विश्वविद्यालयमा क्रिकेट भन्दा पठनपाठनलाई प्राथमिकता दिइन्छ।’ २५ वर्षे सम्झौतामा आधारित त्रिवि क्रिकेट मैदान भाडाका लागि क्यानसँग भएको सम्झौताले वैशाखमै समाप्त भएको छ। क्यानले सम्झौता विस्तारका लागि शिक्षा मन्त्रालयमा निवेदन पठाएको छ।