Skip to main content

इजरायलले लेबनानमा पुनः हवाई आक्रमण गर्‍यो, हिजबुल्लाहले जवाफी प्रहार गर्‍यो

इजरायली सेनाले लेबनानभरि पुनः ठूलो हवाई आक्रमण सुरु गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह विरुद्धको सङ्घर्ष अझ सख्त बनाउने घोषणा गरेपछि यो आक्रमण भएको हो। इजरायली सेनाले पूर्वी लेबनानको बेका उपत्यका लगायत अन्य स्थानहरूलाई निशाना बनाएको छ।

इरानको समर्थन प्राप्त लेबनानी सशस्त्र समूह हिजबुल्लाहले पनि जवाफी कारबाही गरेको छ। हिजबुल्लाहले इजरायली सेना, ट्याङ्क र ब्याराकहरूमा २२ वटा ड्रोन र रकेट प्रहार गरेको जनाएको छ। केही समयअघि दुई पक्षबीच ४५ दिनका लागि युद्धविराम गर्ने सहमति भएको थियो, तर द्विपक्षीय लडाइँ रोकिएको छैन।

प्रधानमन्त्री नेतान्याहुले इजरायल अहिले हिजबुल्लाहसँग युद्धरत रहेको बताएका छन्। उनले सेनालाई हिजबुल्लाह माथि घातक कारबाही गर्न निर्देशन दिएका छन्। हालसम्म ६०० भन्दा बढी लडाकु मारिएको इजरायलको दाबी छ। केही इजरायली मन्त्रीहरूले यो लडाइँलाई लेबनानको राजधानी बेरुतसम्म पु¥याउन खोजिरहेका छन्।

यो विवाद गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको हो। इरानका सर्वोच्च नेता मारिएपछि उनको बदला लिन हिजबुल्लाहले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो। त्यसपछि इजरायलले लेबनानमा ठूलो आक्रमण र सेना परिचालन गर्‍यो। इजरायली आक्रमणमा लेबनानमा अहिलेसम्म ३ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ। निरन्तरको बमबारीले लेबनानका १० लाखभन्दा बढी मानिसहरूलाई घर छोड्न बाध्य बनाएको छ।