Skip to main content

बैंकहरूले कर्जा प्रवाहमा हिचकिचाइरहेका छन्

१४ जेठ, काठमाडौं । केही समयदेखि बैंकहरू कर्जा प्रवाह गर्न हिचकिचाउन थालेका छन्। बढ्दो खराब कर्जा, ऋण दुरुपयोगका घटनाहरू र प्रहरीले बैंककर्मीहरूलाई धरपकड गर्न थालेपछि उनीहरू कर्जा दिँदा जोगिन थालेका हुन्। यस कारण कर्जा लिन आउने ग्राहकहरूको स्क्रिनिङ्ग जटिल र कठोर गरिएपछि कर्मचारीहरूले निरुत्साहित हुन थालेका छन् र कर्जा विस्तार मागअनुसार हुन नसकेको बैंककर्मीहरूको भनाइ छ। ऋण असुलीमा देखिएका समस्याहरू र सरकारी नीतिका कारण बैंकहरूले कर्जा माग आए पनि तुरुन्त स्वीकृत गर्न सकेका छैनन्।

विगतमा जोखिम विश्लेषण नगरी कर्जा विस्तार गर्दा दुरुपयोग बढेको, डिफल्ट बढेको र असुलीमा समस्या आएपछि बैंकहरूले कर्जा विस्तारमा हिचकिचाएको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बताए। त्यस्तै, पछिल्लो समय सरकारले बैंक र व्यवसायीहरूलाई ‘थुन्ने र सुन्ने’ कडा नीति अघि सारेपछि उनीहरूको मनोबल कमजोर भएको पनि उनले दाबी गरे। कोरोना महामारीपछि अर्थतन्त्रलाई गति दिन राष्ट्रिय बैंकले कर्जा नीतिमा केही खुकुलोपना अपनाएको थियो।

बैंक तथा वित्तीय संस्था ग्राहकका घरमै गएर समेत कर्जा वितरण गर्ने आक्रामक रणनीति अपनाए। यस्तो अवस्था हुँदा अर्थतन्त्र चलायमान त बने पनि उत्पादन वृद्धि हुन सकेन। यसले अनुत्पादन क्षेत्रमा कारोबार अस्वाभाविक रूपमा बढ्यो। ‘इजी मनी’ निर्माण हुने क्षेत्रमा (जस्तो सेयर तथा घरजग्गा) आएको अनियमित सुधारलाई सच्याउन राष्ट्र बैंकले कर्जा नीतिमा कडाइ गरेको एक अधिकारीले बताए।

अर्थतन्त्र मन्दी र सुस्त भएपछि ऋणीहरूले किस्ता तिर्न नसक्दा डिफल्ट बढ्न थाल्यो। कर्जाको माग हुँदा जोखिम नबुझी लगानी गरेका बैंक तथा वित्तीय संस्थालाई असुलीमा समस्या भएपछि नयाँ कर्जा स्वीकृत गर्दा न्यून जोखिम भएकालाई मात्र छनोट गर्न बाध्य भएको सीईओले बताए।

‘बैंकका कर्मचारीहरू जोखिमभन्दा पनि ऋणीबाट आउने कमिसनका लागि कर्जा लगानी गर्ने प्रवृत्ति थियो,’ ती सीईओले भने, ‘जोखिम विश्लेषण नगरी कर्जा दिने प्रवृत्ति नियन्त्रण भएपछि अहिले छनोटमुखी कर्जा दिन थालिएको छ। कर्जा दुरुपयोगमा गरिएको कडाइले पनि बैंकहरूले ग्राहकलाई छनौट गरेर मात्र कर्जा दिने गरेको छ।’