
१६ जेठ, काठमाडौं। एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत नेपाल सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ। नेपालले दिएको १२७ रनको लक्ष्य मलेसियाले ८ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्यो। एल्सा हन्टरले २४ बलमा १० चौका र १ छक्का सहित ४८ रन बनाएर मलेसियाको जितको आधार तयार गरिन्। यसअघि उनले सन् २०२४ को एसीसी प्रिमियर कप सेमिफाइनलमा पनि नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकी थिइन् जसमा मलेसियाले नेपाललाई ४ विकेटले हराएको थियो।
धनुश्री मुहुननले २१, आइना हमिजाले १८ र माहिरा इजातीले १४ रन बनाइन्। नेपालले अन्त्यतिर बलिङमा सुधार ल्याएपनि जित्न सकेन। १५ ओभरमा नेपाल ११४-४ को स्थितिमा थियो। १६औं ओभरमा रिया शर्माले २ विकेट लिए भने १७औं ओभरमा सीता रानामगरले १ विकेट लिए। १८औं ओभरमा रिया शर्माले थप १ विकेट लिएपछि मलेसिया ११९-८ मा पुगेको थियो। त्यसपछि ब्याटिङमा आएकी वान जुलियाले ६ अविजित रन बनाउँदै मलेसियालाई जित दिलाइन्। नेपालका लागि रिया शर्माले ३ विकेट लिए भने मनिषा उपाध्याय र रुबिना क्षेत्रीले २-२ विकेट लिए। सीता रानामगरले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले बायुमास ओभलमा २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो। कप्तान इन्दु बर्माले सर्वाधिक ४६ रन अविजित बनाइन् भने कविता कुँवरले १५ बलमा ३३ रन जोडेकी थिइन्। नेपालले १८ ओवरमा ९२-५ को स्थितिमा रहँदा अन्तिम २ ओवरमा ३४ रन जोड्यो। मलेसियाका लागि विनिफ्रेड दुराइसिंगामले २ विकेट लिए भने आइसा एलिसा र माहिरा इजातीले १-१ विकेट लिए। यो खेल जितेमा नेपाल एसियन गेम्समा छनोट हुने थियो। अब तेस्रो स्थानका लागि हुने खेलमा चीनलाई पराजित गरेमा नेपाल एसियन गेम्समा स्थान पाउनेछ। अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ र एसियन गेम्समा पनि छनोट भइसकेको छ।






