
सातौँ राष्ट्रिय फेन्सिङ प्रतियोगिताको अन्तिम दिन आइतबार विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबले विभिन्न स्पर्धामा च्याम्पियन बन्न सफल भएका छन्। प्रतियोगिताअन्तर्गत सिनियर पुरुष फोयल र एपी टिम इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ। सिनियर महिला फोयल र एपी टिम इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै विभागीय टोली एपीएफले पनि स्वर्ण पदक हात पारेको छ।
१७ जेठ, काठमाडौँ। प्रतियोगिताको दोस्रो र अन्तिम दिन आइतबार सिनियर महिला फोयल टिम इभेन्टमा एपीएफ र सिनियर पुरुष फोयल टिम इभेन्टमा त्रिभुवन आर्मी क्लबले शीर्ष स्थान हासिल गरेका छन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा सम्पन्न प्रतियोगितामा महिला फोयल टिममा अनिता अधिकारी, उर्मिला लामा, उर्मिला माझी र आइसा श्रेष्ठ रहेको एपीएफ टोलीले स्वर्ण पदक जितेको छ। गण्डकी प्रदेशले रजत पदक जित्यो भने सुदूरपश्चिमले काश्य पदक प्राप्त गरेको छ।
सिनियर पुरुष फोयल टिम इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जित्यो, जसमा अनुप भण्डारी, नरेन्द्र धामी, भुवन मलिक र वीरसिंह शाहीले सहभागिता जनाएका थिए। गण्डकी पुरुष टोलीले रजत पदक हात पारेको छ भने बागमती र सुदूरपश्चिमले संयुक्त रूपमा तेस्रो स्थान प्राप्त गरेका छन्। एपीएफले सिनियर महिला एपी टिम इभेन्टमा पनि स्वर्ण पदक जितेको छ। यस टोलीमा तुलसा बुढाथोकी, माया चौधरी, अनिता कार्की र जानुका स्याङतानले भाग लिएका थिए।
त्रिभुवन आर्मी क्लबले सिनियर पुरुष एपी टिम इभेन्टमा च्याम्पियनको उपाधि जित्यो। पूर्णराज गिरी, मिन कार्की, हर्क खड्का र सुरज सिंहले टोलीलाई विजयी बनाएका थिए। कोशी प्रदेश दोस्रो भयो भने एपीएफ र सुदूरपश्चिमले तेस्रो स्थान साझा गर्यो। प्रतियोगितामा कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका साथै विभागीय टोली एपीएफ र आर्मी गरी कुल छ टोलीबाट ९६ खेलाडीहरू सहभागी थिए। विजेता खेलाडीहरूलाई शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकारले पुरस्कार वितरण गर्नुभएको थियो।






