
होटल संघ नेपाल (हान) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएका पर्यटन विकास कार्यक्रमहरू प्रति सन्तोष व्यक्त गरेको छ। बजेटमा घोषणा गरिएका नेपाल भ्रमण वर्ष २०८५ र निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने योजना संघले सकारात्मक रूपमा लिएको छ। संघले विद्युत्मा मूल्य अभिवृद्धि करको व्यवस्था पुनःविचार गर्न र सरकारी कार्यक्रम होटलमा गरिने प्रतिबन्ध हटाउन माग गरेको छ।
१७ जेठ, काठमाडौं। होटल संघ नेपाल (हान) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सन्तोषजनक प्रतिक्रिया दिएको छ। आर्थिक रुपान्तरणको मुख्य आधार मानिएका यसभन्दा अघिका राष्ट्रिय बजेटमा समावेश पर्यटन विकासका अवधारणा, कार्यक्रम र बजेटप्रति होटल तथा रिसोर्टहरूको राष्ट्रिय छाता संगठनले सकारात्मक धारणा व्यक्त गरेको छ। संघले यी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई विशेष ध्यान दिन आग्रह पनि गरेको छ।
संघको जारी वक्तव्य अनुसार, निजी क्षेत्रलाई प्रमुख विकास साझेदारका रुपमा जोड्ने बजेट घोषणाले हालका व्यवसायिक गतिविधिमा पूँजी निर्माण र लगानीमा निजी क्षेत्रको अग्रमोर्चा बढ्ने अपेक्षा गरिएको छ। नयाँ बजेटले घोषित गरेका २०८५ नेपाल भ्रमण वर्ष, २०२७ आरोग्य वर्ष, पर्यटकीय गन्तव्य विकास योजना जस्तै निर्वाणपथ, कोशी कोरिडोर, डाँफे, शालिग्राम, मध्यपहाडी क्षेत्र र हिलस्टेशन विकासलाई संघले सकारात्मक रुपमा लिएको छ।
संघले ग्रेट हिमालयन ट्रेल, मनाङ र मुस्ताङका गुम्बा संरक्षण तथा प्रादेशिक पर्यटकीय कोरिडोरहरूको विकासजस्ता कार्यक्रमहरूले पर्यटक संख्यामा वृद्धी, बसाइ र खर्च वृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ। नेपाल एयरलाइन्सलाई कम्पनी मोडेलमा सञ्चालन गर्ने पहललाई पनि सकारात्मक मूल्याङ्कन गरेको छ। युरोपियन युनियनको कालो सूचीबाट हटाउन गरिएका प्रयास र सीमा नाका प्रवेश प्रक्रिया सहज बनाउने कार्यले पर्यटक संख्यामा वृद्धि हुने संघको विश्वास छ।






