
समाचार सारांश आईपीएल २०२६ को फाइनलमा अम्पायरतर्फ आइस ब्याग फ्याँकेका रोयल च्यालेन्जर्स बेंगलुरुका ब्याटर टिम डेभिडलाई आईपीएल २०२७ को पहिलो खेलमा प्रतिबन्ध लागेको छ। आचारसंहिता उल्लंघनको कसुरमा डेभिडलाई खेल शुल्कको ५० प्रतिशत जरिवाना र दुई डिमेरिट अंक समेत दिइएको छ। डेभिडले आईपीएल आचारसंहिताको धारा २.९ उल्लंघन गरेको स्वीकार गरेका छन् र उनले आईपीएल २०२६ मा ३०५ रन बनाएका थिए। १९ जेठ, काठमाडौं। आईपीएल विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का ब्याटर टिम डेभिडलाई आईपीएल २०२७ को पहिलो खेलमा प्रतिबन्ध लगाइएको छ। आईपीएल २०२६ को फाइनलमा गुजरात टाइटन्सविरुद्धको खेलमा अम्पायर तर्फ आक्रामक रूपमा आइस ब्याग फ्याँक्ने आरोपमा उनलाई खेलबाट एक खेलको प्रतिबन्ध र जरिवाना गरियो। यो सिजन डेभिडले तेस्रो स्तर–१ आचारसंहिता उल्लङ्घन गरेकाले खेल शुल्कको ५० प्रतिशत जरिवाना र दुई डिमेरिट अंक दिइयो। पछिल्ला ३६ महिनामा कुल डिमेरिट अंक पाँच पुगेपछि उनलाई प्रतिबन्ध लगाइएको हो। घटना गुजरातको इनिङ्सको १०औं ओभरमा भएको थियो, जब वासिङ्टन सुन्दरको बलमा जोर्डन कक्सको क्याच आउटको अपिल अम्पायरले नटआउट दिएपछि डेभिडले आइस ब्याग फ्याँकेका थिए। डेभिडले आईपीएल आचारसंहिताको धारा २.९ उल्लंघन गरेको स्वीकार गरेका छन् जसअन्तर्गत खेलाडी, टिम अधिकारी, अम्पायर, म्याच रेफ्री वा अन्य व्यक्तिलाई अनुचित वा खतरनाक तरिकाले बल वा अन्य क्रिकेट सामग्री फ्याँक्न निषेध गरिएको छ। यसअघि उनले मुम्बई इन्डियन्सविरुद्ध दुई खेलमा पनि आचारसंहिता उल्लङ्घन गरेको कारण क्रमशः एक र दुई डिमेरिट अंक प्राप्त गरेका थिए। डेभिडले आईपीएल २०२६ मा आरसीबीलाई उपाधि जित्ने यात्रामा महत्वपूर्ण योगदान पुर्याएका थिए। उनले १६ खेलमा ३०५ रन बनाए, औसत ३३.८८ र स्ट्राइक रेट १८८.२७ रहेको थियो।






