Skip to main content

डीएभी, ग्यालेक्सी र मोक्षदाको विजयी सुरुवात

तेस्रो जयकुमारनाथ शाह स्मृति यू–१६ अन्तरविद्यालय क्रिकेटमा डीएभी स्कुलले नेक्सस इन्टरनेसनल स्कुललाई १९३ रनको विशाल अन्तरले पराजित गरेको छ। मोक्षदा स्कुलका गौतम कुमार पटेलले ४ रन खर्चेर ७ विकेट लिएपछि विज्डम एकेडेमीमाथि टोलीले १२३ रनको जित दर्ता गरेको छ। अर्को खेलमा ग्यालेक्सी पब्लिक स्कुलले हिमालयन ह्वाइटहाउस स्कुललाई ९० रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। १९ जेठ, काठमाडौं। तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर–स्कुल क्रिकेट प्रतियोगितामा डीएभी सुशील केडिया विश्व भारती स्कुल, ग्यालेक्सी पब्लिक स्कुल र मोक्षदा स्कुलले विजयी सुरुवात गरेका छन्।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा डीएभीले नेक्सस इन्टरनेसनल स्कुललाई १९३ रनको विशाल अन्तरले पराजित गर्‍यो। २४२ रनको कठिन लक्ष्य पछ्याएको नेक्सस १२.४ ओभरमा सबै विकेट गुमाउँदै ४८ रनमा समेटियो। उसका लागि शिवम शाहले अविजित ११ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। डीएभीको जितमा केशव अग्रवाल र तनिष शाहले समान ३–३ विकेट लिए। कुन्जन आचार्यले २ विकेट हात पार्दा कमल शाही र प्रसिद्ध जैशीले समान १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओवरमा २ विकेट गुमाएर २४१ रनको विशाल योगफल तयार गरेको थियो। टोलीका लागि कमल शाही ४८ बलमा ११ चौका र ३ छक्कासहित ९९ रनमा अविजित रहे। आरुष झाले ५६ रन बनाए भने कप्तान प्रसिद्ध जैशीले २० बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४० रनको आक्रामक इनिङ्स खेले। यता, तल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न अर्को खेलमा ग्यालेक्सी पब्लिक स्कुलले हिमालयन ह्वाइटहाउस आईबी वर्ल्ड स्कुललाई ९० रनले पराजित गर्‍यो। ग्यालेक्सीले दिएको १४४ रनको लक्ष्य पछ्याएको ह्वाइटहाउस १६.१ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा सीमित भयो।

ग्यालेक्सीको जितमा मिङ्मा तामाङले ३ विकेट लिए भने स्वीकृत रिजालले २ विकेट हात पारे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ग्यालेक्सीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४३ रन बनाएको थियो। टोलीका लागि कप्तान स्वीकृत रिजालले सर्वाधिक ३३ रन बनाए। उनले ४० बलमा ३ चौका प्रहार गरे। खुसबेन्द्र साहले २७ रन योगदान गर्दा मिङ्मा तामाङले २० तथा अद्वोय घर्ती मगरले १९ रन जोडे।

ग्यालेक्सीले अतिरिक्तबाट २७ रन प्राप्त गरेको थियो। ह्वाइटहाउसका लागि मधुर पोखरेलले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए। आयुष शाही, प्रशन्न जैशी, रोमन अधिकारी र दाइची खड्काले समान १–१ विकेट हात पारे। त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा गौतम कुमार पटेलको घातक बलिङमा मोक्षदा स्कुलले विज्डम इङ्ग्लिस एकेडेमीलाई १२३ रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको मोक्षदाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो। टोलीका लागि संश्रय श्रेष्ठले ५६ रनको अर्धशतकीय इनिङ्स खेले भने आरोन गिरीले ३६ रन योगदान दिए।

विज्डमका लागि सुवास कुँवरले २ तथा सौरभ अधिकारीले १ विकेट लिए। १६५ रनको लक्ष्य पछ्याएको विज्डम ९.४ ओभरमै ४१ रनमा अलआउट भयो। साइमन लम्साल क्षेत्रीले अविजित ७ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। मोक्षदाको जितमा गौतम कुमार पटेलले ४ ओभरमा केवल ४ रन खर्चेर ७ विकेट लिए। सौगत सेन्चुरी, यमुन केसी र सुयोग्य शाहले समान १–१ विकेट हात पारे। यो जितसँगै समूह ‘ई’ को मोक्षदा स्कुलले २ अंक जोड्दै क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।