
नेपाल एड्भेन्चर रनिङ फेडेरेसनको आयोजनामा आगामी असार ३ गते सुदूरपश्चिमको पर्यटकीय रामारोशन क्षेत्रमा ‘रामारोशन स्काई रन २०२६’ आयोजना गरिने भएको छ। प्रतियोगितामा २८ किलोमिटरको मुख्य स्काई रनिङ र स्थानीय युवाहरूलाई प्रोत्साहन गर्न ५ किलोमिटरको सामुदायिक दौड समावेश गरिएको छ। कुल ४० लाख रुपैयाँ अनुमानित बजेट रहेको यस प्रतिस्पर्धाका विभिन्न विधाका विजेताहरूलाई कुल ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
फेडेरेसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो पहिलो आधिकारिक स्काई रनिङ प्रतियोगिता रामारोशन स्काई रन आयोजना गर्न लागेको जानकारी दिएको छ। प्रतियोगिता सुदूरपश्चिम प्रदेशको पर्यटकीय तथा प्राकृतिक सम्पदाले समृद्ध रामारोशन क्षेत्रमा सञ्चालन गरिने छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका र साँफेबगर नगरपालिकाको सहकार्यमा यो प्रतियोगिता आयोजना गरिने जानकारी फेडेरेसनले दिएको छ।
प्रतिस्पर्धामा २८ किलोमिटर स्काई रनिङ च्यालेन्जमा पुरुष र महिला खुला विधामा प्रतिस्पर्धा हुनेछ। स्थानीय युवाहरूलाई प्रोत्साहन गर्न २० वर्ष मुनिका सहभागीहरूका लागि ५ किलोमिटरको सामुदायिक दौड पनि हुनेछ। प्रतियोगिताको संयोजक निरुपमध्वज कार्कीले भने, “यसअघि भएका अन्य दौडहरु भए पनि यो फेडेरेसनको पहिलो आधिकारिक स्काई रन प्रतियोगिता हो।” २८ किलोमिटर स्काई रनिङ मार्ग रामेखण्डबाट सुरु भएर प्रमुख प्राकृतिक स्थलहरू पार गर्दै पुनः रामेखण्डमै सकिनेछ।
प्रतियोगिताको उद्देश्य सुदूरपश्चिम नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु हो। प्रतियोगितामा अधिकतम १०० जना सहभागी हुन पाउनेछन् र दर्ता १९ जेठदेखि सुरु हुनेछ। दर्ता शुल्क प्रति सहभागी दुई हजार पाँच सय तोकिएको छ भने स्थानीय सहभागीहरूको लागि दर्ता निःशुल्क हुनेछ। सबै सहभागीहरूलाई सहभागिता प्रमाणपत्र प्रदान गरिनेछ भने २८ किलोमिटर मार्ग पूरा गर्ने धावकहरूलाई फिनिशर मेडल दिईनेछ।






