संयुक्त राष्ट्रको दबाब र ट्रम्पको फोन वार्ताले लेबनानमा तनाव बढाएको छ

समाचार संक्षेप: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई टेलिफोन गरी बेरुतमा बमबारी योजनालाई रोक्न चेतावनी दिएका छन्। संयुक्त राष्ट्र संघको आपतकालीन सुरक्षा परिषद्को बैठकमा कूटनीतिज्ञहरूले इजरायललाई दक्षिणी लेबनानबाट सैनिक फिर्ता हुन र आक्रमणहरू रोक्न आव्हान गरेका छन्। इजरायली सेनाले दक्षिणी लेबनानको रणनीतिक ‘बोफोर्ट’ किल्ला कब्जा गर्दै विगत २५ वर्षयताकै सबैभन्दा गहिरो सैन्य हस्तक्षेप गरेको छ।
१९ जेठ, काठमाडौं। अमेरिका र इरानबीच मध्यपूर्वमा शान्ति स्थापना र युद्धबिरामका लागि उच्च तहमा कूटनीतिक प्रयास भइरहेका बेला पनि इजरायलले लेबनान र हिजबुल्लाहमाथि आफ्नो सैन्य आक्रमण निरन्तर राखेको छ। अमेरिका र इरानबीच अप्रिलदेखि सुरु भएको युद्धबिरामलाई लिएर दुई पक्षबीच बुझाइ फरक देखिएको छ। इरानले अमेरिकासँग हुने कुनै पनि सम्झौतामा लेबनान र हिजबुल्लाहलाई पनि समेटिनुपर्ने अडान राखिरहेको छ। तर, इजरायल र अमेरिका यस सम्झौतामा केवल इरान-अमेरिका द्वन्द्व, हर्मुज जलमार्ग खुला गर्ने र इरानको आणविक मुद्दामा सीमित राख्न चाहन्छन्।
संयुक्त राष्ट्रसंघका लागि इरानी नियोगले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी अमेरिकासँगको वार्तामा स्पष्ट छौँ। कुनै पनि शान्ति सम्झौता पूर्ण र दीर्घकालीन हुन त्यसले लेबनान र हिजबुल्लाह विरुद्ध चलिरहेको इजरायली आक्रमणलाई समेट्नुपर्छ। लेबनानलाई बाहिर राखेर गरिएको सम्झौता इरानका लागि स्वीकार्य छैन।’ तर अमेरिकी अधिकारीहरूले भने यो वार्ता क्षेत्रीय नभई द्विपक्षीय सुरक्षा केन्द्रित रहेको दाबी गरेका छन्।
सोमबार संयुक्त राष्ट्रसंघको आपतकालीन सुरक्षा परिषद्को बैठक बस्यो। फ्रान्सको अनुरोधमा बोलाइएको यो बैठकले लेबनानमा भइरहेको उथलपुथललाई समेटेको थियो। बैठकमा कूटनीतिज्ञहरूले इजरायललाई दक्षिणी लेबनानबाट सैन्य फिर्ता हुन र थप आक्रमण रोक्न आग्रह गरेका थिए। सुरक्षा परिषद्को बैठकमा इजरायलको कदमको सबैभन्दा कडा आलोचना फ्रान्स, बेलायत, रसिया र चीनले गरेका थिए। अमेरिकी वक्तव्य भने इरान र हिजबुल्लाहलाई दोष दिनेमा केन्द्रित थियो।
सोमबार भएको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अत्यन्त आक्रामक र अमर्यादित शब्दहरू प्रयोग गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहुलाई होच्याएका थिए। ट्रम्पले नेतान्याहुलाई पागल समेट्दै कृतघ्नताको आरोप समेत लगाएका थिए। ट्रम्पले भनेका थिए, ‘तिमी पूर्ण रूपमा पागल हौ, म नहुँदा तिमी अहिले जेलमा हौथ्यौ, मैले तिम्रो रक्षा गरेको छु तर यस कदमपछि सबैले तिमी र इजरायललाई घृणा गर्न थालिसकेका छन्।’
ट्रम्पले लेबनानको बेरुतमा बमबारी योजना तत्काल रोक्न आदेश दिंदै यसो गरेमा इजरायल एक्लिने चेतावनी दिएका थिए। अन्तर्राष्ट्रिय समाचार अनुसार, ट्रम्पको आदेशपछि इजरायलले लेबनानमा आक्रमण गरेको पाइएन। ट्रम्पले नेतान्याहुसँगको टेलिफोन वार्तापछि सामाजिक सञ्जालमा जानकारी दिएका छन्। उनले भने कि इजरायली सेना बेरुत नजाने र सेना फर्किसकेको छ। हिजबुल्लाहले सबै आक्रमणहरू रोक्ने सहमति जनाएको बताएका छन्।
यसैबीच, इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्नो सैन्य कारबाही जारी राख्ने पनि बताएका छन्। हिजबुल्लाहबाट तत्काल प्रतिक्रिया आएको छैन। इजरायलको मुख्य माग हिजबुल्लाहको पूर्ण निरस्त्रीकरण र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव १७०१ को कार्यान्वयन हो। यस प्रस्तावले दक्षिणी लेबनानमा हिजबुल्लाहको हतियार सहितको उपस्थिति रोक्छ।






