Skip to main content

नेपाल–भारत सीमा विवाद: नवलपरासी पश्चिमको सुस्तामा वर्तमान स्थिति

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले नारायणी नदीको पूर्वी किनारमा नेपालले बनाउँदै गरेको तटबन्ध निर्माणमा भारतीय पक्षले रोक लगाएको दाबी गरेका छन्। “यो संयोग हो कि के हो थाहा छैन, तर हाम्रा प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा सीमा विवादसम्बन्धी कुरा बोलेको केही घण्टाभित्रै भारतीय सीमा सुरक्षा बलले बन्दुक तेर्स्याएर त्यहाँ कार्यरत मजदुरहरूलाई काम गर्न रोक लगाएको हो,” अध्यक्ष उपाध्यायले भने।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आइतवार प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै भनेका थिए, “भारतले मात्र होइन, नेपालले पनि भारतको जमिन मिचेको” जानकारी आफू प्रधानमन्त्री बनेपछि थाहा पाएको बताए। प्रधानमन्त्रीको उक्त भनाइको आलोचना भएपछि परराष्ट्र मन्त्रालयका प्रवक्ताले सोही दिन विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्ति “मूलतः दशगजा क्षेत्रमा दाबी” र “सीमा पार जमिन कब्जाको विषय”सँग सम्बन्धित रहेको स्पष्ट पारे।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलबार प्रधानमन्त्री शाहको भनाइ र त्यसपछि नेपालले जारी गरेको वक्तव्य हेरेको बताए। उनले सीमा सम्बन्धी समस्याको समाधानका लागि द्विपक्षीय संयन्त्र सक्रिय रूपमा काम गरिरहेको पनि बताए। “भारत र नेपालबीचको सीमा करिब ९८ प्रतिशत भाग निर्धारण भइसकेको छ। केही भाग भने समाधान हुनु बाकी छ,” रणधीर जयसवालले बताए।

नियमित अनुगमननवलपरासी पश्चिम जिल्ला प्रशासन कार्यालयका अनुसार, नेपाली सशस्त्र प्रहरी बल २६ नम्बरका गणपति गोविन्दबहादुर खातीको नेतृत्वमा १३ जनाको टोली र भारतीय सुरक्षा बल (पश्चिम चम्पारण, बिहार)का एएसपी तोपेश्वर राउत नेतृत्वमा १७ जनाको टोलीले जेठ १७ गते सुस्ताको सीमा संयुक्त रूपमा अनुगमन गरेको थियो। “यो संयुक्त सीमा अनुगमन नियमित रूपमा हुने कार्य हो,” पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राजभण्डारीले भने।

सुस्ताको सीमालाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद हुँदै आएको छ। जयसवालले गण्डक नदी (नारायणी नदी)को धार परिवर्तनले यस्तो स्थिति सिर्जना भएको स्वीकार गरे। सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले भारतीय पक्षले तटबन्ध बनाउने ठाउँ रोक्नु परेको क्षेत्र नेपाली सीमावर्ती नै रहेको बताएका छन्। “यो विवादित क्षेत्र होइन। त्यो स्थान तत्कालीन राजा महेन्द्रले २०२२ सालमा पूर्व सैनिकहरू बसाउने गरी बनाएको हो,” उनले भने।

सन् १८१६ को सुगौली सन्धिअनुसार, नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी नै हो। सीमाविदहरूले भनेका छन् कि पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो। तर बाढीका कारण नारायणी नदीको धार परिवर्तन हुँदा अहिले सुस्ता नदीको पूर्वी किनारमा पुगेको छ। अहिलेसम्म सुस्तामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका चौकीहरू छन् र त्यहाँ करिब ३०० घरधुरीको बस्ती छ।