रोल्पामा खोलाको बाढीले बगाउँदा विद्यालयबाट फर्कँदै गरेका दुई बालकको मृत्यु

२० जेठ, रोल्पा । रोल्पा जिल्लाको गंगादेव गाउँपालिका–६ रातामाटा क्षेत्रमा खहरे खोलाको बाढीले बगाउँदा दुई बालकको मृत्यु भएको छ। बुधबार साँझ विद्यालयबाट घर फर्कँदै गरेका क्रममा खोलाको बाढीमा बगेका रातामाटाका निमबहादुर खड्काका ७ वर्षिया छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षिया छोरा समिर केसीको मृत्यु भएको हो। साँझ पौने ६ बजे घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जिनावाङबाट प्रहरीले तुरुन्तै घटनास्थलमा पुगेको थियो। त्यसैगरी, इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट पनि थप टोली घटना स्थलमा गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर सुनिल थापा नेपालीले जानकारी दिए।






