Skip to main content

हलेसी तुवाचुङमा लिफ्टिङ प्रविधिद्वारा स्वच्छ खानेपानी उपलब्ध, ३१ परिवार लाभान्वित

२० जेठ, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा ‘एक घर, एक धारा’ कार्यक्रम लागू भएपछि स्थानीय उपभोक्ताले महत्वपूणर् लाभ प्राप्त गरेका छन्। गोर्खा वेलफेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा आएपछि सल्लेका ३१ घरका मगर परिवारहरूले पानीको सुविधा पाएका छन्। सुक्खा प्रभावित क्षेत्र सल्लेमा सञ्चालनमा आएको लिफ्टिङ प्रविधिद्वारा खानेपानी योजनाको कुल लागत ५३ लाख रुपैयाँ रहेको छ। यसमा गोर्खा वेलफेयर ट्रष्टले ४६ लाख रुपैयाँ र स्थानीय उपभोक्ताले ७ लाख रुपैयाँ बराबरको श्रमदान तथा नगद सहयोग गरेका छन्, वडाध्यक्ष काशीराज राईले जानकारी दिए।

स्थानीय ठूलो पँधेरो मुहानबाट लिफ्टिङ प्रविधिद्वारा पानी तानेर वस्तीमा वितरण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ। वर्षौंदेखि खानेपानीको अभाव भोगिरहेका सल्लेका ३१ घरका मगर परिवारहरूले अब आफ्नै घरको आँगनमा स्वच्छ र पर्याप्त खानेपानी पाउन थालेका छन्। लिफ्टिङ प्रविधिद्वारा खानेपानी योजना निर्माण सुरु भएको ७२ दिनभित्रै सम्पन्न गरी हलेसी तुवाचुङ नगरपालिका समक्ष हस्तान्तरण गरिएको गोर्खा वेलफेयर सोसाइटी धरानका सिनियर अफिसर केदार राईले बताए। खानेपानी आयोजनाअन्तर्गत २६ घरमा निजी र दुई वटा सार्वजनिक धाराहरू जडान गरिएको छ। लिफ्टिङ प्रविधिबाट खानेपानी योजना सञ्चालनमा आएपछि दैनिक उपभोगका लागि पानी टाढाबाट बोकेर ल्याउनु पर्ने बाध्यता स्थानीयबासीले अन्त्य भएको बताए। –रासस

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ