
छैटौँ अन्नपूर्ण म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवर र मञ्जु रावतले जितेका छन्। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७६औँ वार्षिकोत्सवका अवसरमा बुधबार यो दौड आयोजना गरेको थियो। विजेताहरूले जनही १ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
अन्नपूर्ण आधार शिविरबाट सुरु भएको ४२.१९५ किलोमिटर दूरी दलबहादुरले ४ घण्टा ४ मिनेट ११ सेकेन्डमा पूरा गरे। नेपाली सेनाका तिलकबहादुर सुनुवार ४ घण्टा १० मिनेट ८ सेकेन्डमा दोस्रो भए भने सचिन गुरुङ ४ घण्टा ४९ मिनेट १२ सेकेन्डमा तेस्रो स्थानमा रहे।
महिलातर्फ जुम्लाकी मञ्जु रावतले ६ घण्टा १४ मिनेट १९ सेकेन्डमा दूरी पूरा गरिन्। जुम्लाकी राज्यलक्ष्मी रावल दोस्रो र कल्पना बुढा तेस्रो भइन्। राज्यलक्ष्मीले ६ घण्टा ५६ मिनेट २५ सेकेन्ड र कल्पनाले ६ घण्टा ५६ सेकेन्डमा दूरी पार गरिन्।
महिला तथा पुरुष दुवैतर्फका विजेताले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए।
“सबै मौसमका लागि पर्यटन” भन्ने नारासहित आयोजित म्याराथन समुद्री सतहबाट ४,१३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु भएर माछापुच्छ्रे आधार शिविर, देउराली, हिमालय, दोभान, सिनुवा, बम्बु, छुमरुङ, तौलु, घुर्जुङ, चुहिले, मेलाञ्चे, कोम्रोङडाँडा हुँदै घान्द्रुकस्थित मेश्राम बराह माध्यमिक विद्यालयको खेल मैदानमा पुगेर सम्पन्न भयो।






