Skip to main content

भक्तपुरमा श्रीमानले श्रीमतीको हत्या गरे

२१ जेठ, काठमाडौं। भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोड स्थित आर्मी व्यारेक नजिकै एक महिलाको हत्या भएको छ। काठमाडौं शंकरापुर नगरपालिका वडा नं. ६ नाङ्लेभारे घर भएकी ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको हत्या भएको हो, जो आर्मी व्यारेक पछाडि डेरा गरी बस्दै आएकी थिइन्। सलिनाको हत्या उनकै श्रीमान ३८ वर्षीया विदुर विश्वकर्माले गरेका छन् र प्रहरीले उनलाई पक्राउ गरिसकेको छ। बुधबार बेलुकी पौने आठ बजेतिर घरायसी विवादको क्रममा विदुरले सलिनामाथि खुकुरी प्रहार गरेका थिए। उनी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुले जानकारी दिए।

आमा-बुवाको झगडा छुटाउन गएका उनीहरुको आठ वर्षीया छोरालाई समेत खुकुरी प्रहारबाट चोट लागेको प्रहरीले जनाएको छ। भक्तपुर अस्पतालमा उपचार पश्चात् उनी डिस्चार्ज भइसकेका छन्। हाल ती बालकलाई प्रहरीले परिसर भक्तपुरको बाल मैत्री कक्षमा राखेको छ। घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) सूर्य बहादुर खड्काको कमाण्डमा अनुसन्धान अधिकृतसहितको टोली परिचालित थियो। भक्तपुर प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।