
एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ। नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र ६२ रन बनायो। नेपालका लागि ब्याटिङमा सीता राना मगरले सर्वाधिक ३७ रन बनाइन् भने बलिङमा रुबिना क्षेत्रीले ३ विकेट लिए।
२१ जेठ, काठमाडौं। नेपालले लगातार दोस्रो जित हात पारेको छ। बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको हो। नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर केवल ६२ रन बनायो। भुटानका लागि डेचेन वाङ्मोले सर्वाधिक अविजित ३९ रन जोडिन् भने चाडो ओमले ११ रन योगदान गरिन्। बाँकी खेलाडीहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि बलिङमा रुबिना क्षेत्रीले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए। रिया शर्माले २ र कविता कुँवर तथा मनिषा उपाध्यायले १-१ विकेट झारिन्। यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको थियो। सीता राना मगरले सर्वाधिक ३७ रन जोडिन्। रुबिना क्षेत्रीले २४, सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन बनाए। नेपाल १०औं ओभरमा ४७-६ र १३औं ओभरमा ६७-७ मा संघर्षरत थियो।
सीता र रुबिना मिलेर आठौं विकेटका लागि ४० रनको साझेदारी गरे। सीता आउट हुँदा नेपालको स्कोर १०७-८ थियो, त्यसपछि १५ बलमा थप ६ रन बनाउने क्रममा बाँकी २ विकेटहरु गुमाइयो। भुटानका लागि सोनाम र छिरिङ जाङ्मोले समान ३-३ विकेट लिए। कप्तान अन्जु गुरुङले २ विकेट लिए भने रित्सी छोडेन र रिया प्रधानले १-१ विकेट लिए। नेपालले बुधबार पहिलो खेलमा कतारलाई पराजित गरेको थियो। अब शनिबार नेपालले हङकङसँग अर्को खेल खेल्ने छ।






