Skip to main content

भुर्तेलको शतकले नेपालले मलेसिया विरुद्ध बनायो विशाल योगफल

समाचार सारांश एसियन गेम्स छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलमा नेपालले ७ विकेट गुमाएर २७५ रनको विशाल योगफल तयार पारेको छ। ओपनर कुशल भुर्तेलले ५४ बलमा १२६ रन बनाएर लगातार दुई टी-२०आई शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान स्थापित गरे। मलेसिया विरुद्धको खेलमा अर्को ओपनर आसिफ शेखले २४ बलमा ६८ रन र कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन बनाए। २१ जेठ, काठमाडौं। ओपनिङ ब्याटर कुशल भुर्तेलको कीर्तिमानी शतकको सहयोगमा नेपालले एसियन गेम्स छनोट अन्तर्गत मलेसिया विरुद्ध ठूलो योगफल तयार पारेको छ। टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन जोड्यो। भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्कासहित १२६ रन बनाउन सफल भए। अर्काे ओपनर आसिफ शेखले २४ बलमा ६८ रन थपे। टी-२० अन्तर्राष्ट्रियमा भुर्तेलले लगातार दोस्रो शतक प्रहार गरे जुन उनको करियरको तेस्रो शतक पनि हो। उनले यसै प्रतियोगितामा पहिलो खेलमा चीनविरुद्ध ३५ बलमै शतक बनाएका थिए र ४३ बलमा १२९ रन बनाएर आउट भएका थिए। मलेसियाविरुद्ध भुर्तेलले ४४ बलमा शतक पूरा गरे। उनी लगातार दुई टी-२०आई शतक प्रहार गर्ने पहिलो नेपाली र विश्वका १० औं खेलाडी हुन्। कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन बनाए। मलेसियाका विरानदीप सिंहले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। विजय उन्नी र सायद अजिजले २-२ विकेट हात पारे।