
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानहरूमा भएका विपद्का घटनामा पाँच जनाको मृत्यु भइसकेको छ भने ११ जना घाइते भएका छन्। रौतहट, बारा र कपिलवस्तुमा सर्पको टोकेर तीन जनाको र रोल्पामा खहरे भेलले बगाउँदा दुई बालकको मृत्यु भएको छ। यस अवधिमा देशका विभिन्न जिल्लामा भएका २५ विपद्का घटनाबाट ६३ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति समेत भएको छ। २१ जेठ, काठमाडौं।
पछिल्लो २४ घण्टाभित्र देशका विभिन्न क्षेत्रमा भएका विपद्का घटनामा पाँच जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पुष्टि भएको छ। रौतहट, बारा, कपिलवस्तु र रोल्पा जिल्लामा यी मृत्युका घटना भएका हुन्। मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा र कञ्चनपुरमा भएका विपद्का घटनाहरूमा थप ११ जना घाइते भएका छन् भन्ने जानकारी प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताइन्।
प्रवक्ता महतका अनुसार, रौतहट, बारा र कपिलवस्तुमा सर्पको टोकेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको छ। रोल्पा जिल्लाको गङ्गादेव गाउँपालिका रातमाटामा खहरे भेलले बगाएपछि दुई बालकको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। उनले बताइन्, पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २५ वटा विपद्का घटना भएका छन् र ती घटनाबाट ६३ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति पुगेको छ।






