
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङले एएफसी महिला च्याम्पियन्स लिग विजेता नाएगोह्याङ महिला फुटबल क्लबका खेलाडीहरूलाई प्योङयाङमा भेटेर बधाई दिएका छन्। नाएगोह्याङ महिला फुटबल क्लबले जापानको टोकियो भर्डी बेलेजालाई १–० ले पराजित गर्दै ऐतिहासिक एएफसी महिला च्याम्पियन्स लिगको उपाधि जितेको थियो। किमले सो अवसरमा नाएगोह्याङ र उत्तर कोरियाको यू–१७ महिला राष्ट्रिय टोलीबीचको मैत्रीपूर्ण खेलसमेत अवलोकन गरेका थिए।
२१ जेठ, काठमाडौं। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङलाई भेट्दा उत्तर कोरियाली महिला फुटबल खेलाडीहरू भावुक भएका छन्। एएफसी महिला च्याम्पियन्स लिगको ऐतिहासिक उपाधि जितेको उत्तर कोरियाली क्लब नाएगोह्याङ महिला फुटबल क्लबका खेलाडीहरूलाई नेता किम जोङले यस साता प्योङयाङमा व्यक्तिगत रूपमा स्वागत गर्दा उनीहरू खुसीले भावुक भएका थिए। किमले उनीहरूलाई अँगालो हाल्दै सामूहिक तस्वीरसमेत खिचाएका थिए।
नाएगोह्याङ महिला एफसीले मे २३ मा दक्षिण कोरियाको सुवानमा भएको फाइनलमा जापानको टोकियो भर्डी बेलेजालाई १–० ले पराजित गर्दै एएफसी महिला च्याम्पियन्स लिगको उपाधि जितेको थियो। यससँगै यो प्रतियोगिता जित्ने पहिलो उत्तर कोरियाली क्लब बन्न सफल भयो। उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार किमले टोलीलाई ऐतिहासिक सफलताका लागि बधाई दिएका थिए। उनले नाएगोह्याङ महिला क्लब र उत्तर कोरियाको यू–१७ महिला राष्ट्रिय टोलीबीचको मैत्रीपूर्ण खेलसमेत अवलोकन गरेका थिए।






