गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि भारतीय पक्षसँग अनुरोध

भारतको गोरखपुरमा सम्पन्न ‘भारत–नेपाल आर्थिक सहयोग मञ्च–२०२६’ मा दुबै देशका प्रतिनिधिहरूले द्विपक्षीय आर्थिक सहकार्य सुदृढ गर्न जोड दिएका छन्। कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन र लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि भारतीय निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरिएको छ। नेपाल र भारतका व्यवसायीहरूले भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा भारतीय उद्योगहरूलाई आकर्षित गर्न नीतिगत र व्यावसायिक सहकार्य आवश्यक रहेको बताएका छन्। २१ जेठ, बुटवल।
नेपाल र भारतबीचको आर्थिक, व्यापारिक र लगानी सहकार्यलाई अझ प्रभावकारी बनाउँदै साझा समृद्धिको आधार तयार गर्न दुवै देशका सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूले जोड दिएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन, सीमापार क्षेत्रको औद्योगिक विकास तथा लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा भारतको निजी क्षेत्रको सक्रिय सहभागिताको आवश्यकता औंल्याइएको छ। बिहीबार भारतको गोरखपुरमा सम्पन्न ‘भारत–नेपाल आर्थिक सहयोग मञ्च–२०२६’ मा सहभागी वक्ताहरूले कृषि, पर्यटन, ऊर्जा, बैंकिङ, पूर्वाधार, औद्योगिक लगानी र सीमापार व्यापारलाई प्राथमिकतामा राखेर द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउनुपर्ने बताइएको छ।
कार्यक्रममा नेपाली निजी क्षेत्रका प्रतिनिधिहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडानको केन्द्रका रूपमा विकास गर्न भारतीय वायुसेवा कम्पनी तथा निजी क्षेत्रको सहकार्य आवश्यक भएको बताएका छन्। विमानस्थल सञ्चालनले लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार र लगानी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। छलफलका क्रममा भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा भारतीय उद्योगहरूलाई आकर्षित गर्न नीतिगत तथा व्यावसायिक सहकार्य आवश्यक रहेको विषय उठाइएको थियो। सहभागीहरूले सीमापार क्षेत्रका औद्योगिक सम्भावनाको उपयोग गर्दै संयुक्त लगानी र उत्पादन विस्तार गर्न जोड दिएका छन्।

