Skip to main content

क्यानडाले एआईबाट २ लाख ५० हजार रोजगारी सिर्जना गर्दै ३ प्रतिशत जीडीपी वृद्धि गर्ने रणनीति सार्वजनिक गरेको छ

क्यानडाले सन् २०३१ सम्ममा २ लाख ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्यसहित नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) रणनीति सार्वजनिक गरेको छ। स्वदेशी एआई कम्पनीहरूलाई सहयोग पुर्‍याउन क्यानडा सरकारले ५० करोड क्यानेडियन डलरको नयाँ प्रविधि कोष स्थापना गर्ने योजना बनाएको छ। यस नयाँ रणनीतिबाट क्यानडाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३ प्रतिशतले वृद्धि भई २०० अर्ब क्यानेडियन डलर बराबर आर्थिक लाभ हुने अपेक्षा गरिएको छ। २२ जेठ, काठमाडौं।

क्यानडाले बिहीबार नयाँ आर्टिफिसियल इन्टेलिजेन्स रणनीति सार्वजनिक गरेको छ, जसले सन् २०३१ सम्ममा २ लाख ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। समाचार संस्था रोयटर्सका अनुसार, यस रणनीतिमा स्वदेशी एआई कम्पनीहरूलाई सहयोग गर्न ५० करोड क्यानेडियन डलर (३६ करोड ५० हजार अमेरिकी डलर) को नयाँ प्रविधि कोष समावेश गरिएको छ। ‘सबैका लागि एआई’ नामक यो रणनीतिको घोषणा प्रधानमन्त्री मार्क कार्नीले गरेका हुन्।

क्यानडाका ठूला कम्पनीहरूले छिटो सूचना प्रशोधन गर्ने तथा ऐतिहासिकरुपमा कम उत्पादकत्व वृद्धि भएको क्षेत्रमा नयाँ उपकरण विकास गर्न ठूलो लगानी गरिरहेका बेला टोरन्टोमा कार्नीले जारी गरेको यस रणनीतिअनुसार, क्यानडाको कुल गार्हस्थ्य उत्पादन ३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। प्रमुख क्षेत्रहरूमा एआईको व्यवसायीकरण र प्रयोगले श्रम उत्पादकत्वमा वृद्दि गर्दै करिब २०० अर्ब क्यानेडियन डलर बराबरको आर्थिक सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

क्यानडाको डिजिटल क्षेत्रमा हाल करिब ८ लाख कामदार कार्यरत छन् र जीडीपीमा १४० अर्ब क्यानेडियन डलरभन्दा बढी योगदान दिइरहेका छन्, जसमा १ लाख ५० हजार प्रत्यक्ष रूपमा एआईसँग सम्बन्धित रोजगारी छन्। अमेरिकी प्रविधि कम्पनीहरूको तुलनामा पूँजीको अभाव झेलिरहेका क्यानडाली एआई कम्पनीहरूलाई सहायता पुर्‍याउन क्यानडाले ५० करोड क्यानेडियन डलरको ‘क्यानडियन टेक ग्रोथ फन्ड’ स्थापना गर्ने योजना बनाएको छ। यस कोषले संघीय सरकारले क्यानडाली एआई कम्पनीहरूमा इक्विटी लगानी गर्ने अवसर पनि प्रदान गर्नेछ।

साना तथा मझौला उद्यमहरूलाई एआई उपकरणहरूमा पहुँच पुर्‍याउन सरकारले बिजनेस डेभलपमेन्ट बैंक अफ क्यानडाबाट ५० करोड क्यानेडियन डलरको पहललाई सक्रिय गर्नेछ। साथै, क्यानडाले बालबालिकाको जानकारी र अनलाइन गतिविधि सुरक्षित बनाउन, डिपफेकसँग लड्न तथा व्यक्तिगत डेटा नियन्त्रणलाई बलियो बनाउन नयाँ उपभोक्ता गोपनीयता कानुन ल्याउने योजना पुन: पुष्टि गरेको छ। एआई सम्बन्धी जोखिमहरूको अनुगमन गर्न र एआई मोडेलहरूको पारदर्शी मूल्याङ्कनको लागि सरकारले पाँच करोड क्यानेडियन डलर लगानी गर्नेछ। तर, यी नियमहरूको कार्यान्वयन समयावधि भने खुलाइएको छैन।