
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेशका महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाही जिल्लामा आज नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ। प्रतिनिधि विवादका कारण हिजो रोकिएका महोत्तरी र रौतहट जिल्लाको अधिवेशन पनि आज सञ्चालन हुँदैछ। जनकपुर उपमहानगरपालिकाको अधिवेशन विवादपछि आज पुनः गर्न लागिएकाले धनुषा जिल्लाको अधिवेशन २६ जेठका लागि सारिएको छ।
आजका लागि सिराहा, धनुषा, पर्सा र सर्लाही जिल्लाको अधिवेशन मिति तय गरिएको थियो, तर धनुषा जिल्लाको अधिवेशन आज हुने छैन। हिजो रोकिएका महोत्तरी र रौतहटका साथै थप तीन जिल्लाको अधिवेशन आज सञ्चालन हुने जानकारी मधेश संगठन विभाग प्रमुख कामिनी चौधरीले दिइन्।
अधिवेशन रोकिनुको कारण प्रतिनिधि विवाद रहेको मधेशबाट प्रतिनिधि सभा सदस्य रहेका एक सांसदले बताए। उनले भने, ‘वैशाख १५ पछि विभाग सदस्य बनेकालाई प्रतिनिधि बनाउन नमिल्ने पत्र आएको रहेछ। प्रतिनिधि छनोटको विषय हिजो मिलाउन समय नपुगेको कारण अधिवेशन स्थगित गरिएको हो।’
चौधरीले प्रक्रिया पूरा गर्न ढिलाइ भएका कारण महोत्तरी र रौतहटको अधिवेशन पनि आज गरिने जानकारी दिइन्। जनकपुर उपमहानगरपालिकाको अधिवेशन नगरी सो जिल्लाको अधिवेशन गर्न नसकिने हुँदा धनुषाको अधिवेशन रोकिएको छ। सम्भवत: जेठ २६ गते धनुषाको अधिवेशन हुनेछ भनी उनले बताइन्। बारा र सप्तरी जिल्लाको अधिवेशन मिति भने अहिलेसम्म निश्चित भएको छैन।





