Skip to main content

पाँचौं नखिपोट खुला बास्केटबलमा कीर्तिपुर र बूढानीलकण्ठको जित

पाँचौं नखिपोट खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ आईएमएस कीर्तिपुर र बूढानीलकण्ठले सोमबार जित हाँसिल गरे। कीर्तिपुरले बौद्धलाई ६८–६० ले पराजित गर्‍यो। विजेताका अभिषेक सिंहले २९ अंक बनाए। शुरुवाती दुई क्वाटरमा १४–९ र १३–१८ ले पछि परेको कीर्तिपुरले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गर्‍यो। तेश्रो क्वाटरमा १७–११ र चौथोमा २४–१२ को अग्रता लिन सफल भयो। बूढानीलकण्ठले रोमाञ्चक खेलमा गोल्डेनगेटलाई ७९–७४ ले पराजित गर्‍यो। बूढानीलकण्ठका विजय लामाले १९ अंक जोडे। तेश्रो क्वाटरको अन्त्यसम्म गोल्डेनगेट ५८–४८ ले अघि थियो। गोल्डेनगेटले पहिलो क्वाटर १३–२१, दोस्रो २४–१२ र तेस्रो २४–१५ को स्कोर देखायो। चौथो क्वाटरमा बूढानीलकण्ठले ३१–१६ को ठूलो अग्रता बनाउँदै समग्रमा ५ अंकको अन्तरले जित हात पारे। यसअघि पुरुषतर्फ दारीले प्ले बक्सलाई ८२–५३ तथा सोलोले धरानलाई ७९–६६ ले पराजित गरेका थिए। दारीका विक्रम डंगोलले १९ र सोलोका प्रगुन महर्जनले २७ अंक बनाए। नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा भइरहेको महिलाहरूको प्रतियोगितामा स्टार्स ग्रान्डीले बूढानीलकण्ठलाई ४९–३५ ले हरायो। ग्रान्डी स्टार्सकी रिन्चेन मोक्तानले १८ अंक बनाए। यो बूढानीलकण्ठको महिला टोलीको दोस्रो खेलमा पहिलो हार हो।