लुम्बिनी प्रदेशले पाँचौं राष्ट्रिय वादोरियो कराते प्रतियोगिता उपाधि जित्यो

पाँचौं राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा लुम्बिनी प्रदेशले ४ स्वर्ण पदकसहित उपाधि आफ्नो बनाएको छ। पुरुषतर्फ कोशी प्रदेशका अङ्कित लिम्बू र महिलातर्फ मधेस प्रदेशकी अनु मोक्तान उत्कृष्ट खेलाडी घोषित भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता लगायतले विजेता खेलाडी र टोलीलाई पुरस्कार तथा पदक प्रदान गरे। २५ जेठ, काठमाडौं।
नेपाल वादोरियो कराते डो संघको आयोजनामा सम्पन्न प्रतियोगितामा लुम्बिनी प्रदेशले कुल ४ स्वर्ण, ४ रजत र ७ कास्य पदक जित्दै प्रथम स्थान हासिल गरेको छ। कोशी प्रदेशले ३ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित दोस्रो स्थान पाए भने मधेस प्रदेशले ३ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित तेस्रो स्थान पाए।
पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधि ६० केजी तौल समूहमा स्वर्ण पदक जित्ने कोशी प्रदेशका अङ्कित लिम्बूले प्राप्त गरे। महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि ५० केजी तौल समूहमा स्वर्ण पदक जित्ने मधेस प्रदेशकी अनु मोक्तानले लिए। पुरस्कार वितरण समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, गोजुरियो करातेका अध्यक्ष गणेश कार्की, नेपाल ओलम्पिक कमिटीका सचिव राम श्रेष्ठ, वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसीलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा देशभरिका सातवटा प्रदेशका खेलाडीहरूले भाग लिए। आयोजक समितिका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलका अनुसार, यस प्रतियोगिताले राष्ट्रियस्तरमा कराते खेलको विकास गर्दै खेलाडीहरूको क्षमता वृद्धि र नयाँ प्रतिभा पहिचानमा महत्त्वपूर्ण योगदान गरेको छ।






