
२७ जेठ, पोखरा। गण्डकी विश्वविद्यालयको रजिस्ट्रार पदमा डा. ढाकाराम भण्डारी नियुक्त भएका छन्। उपकुलपति डा. कृष्ण अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिले सिफारिस गरेका ३ जना प्रतिस्पर्धीमध्येबाट भण्डारी चयन भएका हुन्। कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले बुधबार उनलाई उक्त पदमा नियुक्त गरेका छन्। समितिले डा. भण्डारीसँगै डा. श्रीकान्त खतिवडा र राजेश ठकुराठीको नाम पनि सिफारिस गरेको थियो।
डा. भण्डारी गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) का पूर्व कार्यकारी निर्देशक हुन्। हाल उनी सेन्टर फर इन्भाइरोन्मेन्टल एन्ड सस्टेनेबल एग्रिकल्चरल रिसर्च (सिजार) मा कार्यकारी निर्देशकको रूपमा कार्यरत छन्। नेपाल र जर्मनीमा डेढ दशकभन्दा बढी समय शैक्षिक नेतृत्व, अनुसन्धान व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति निर्माण र संस्थागत विकासमा कार्यरत रहेका छन्। जर्मनीको जस्टस लिबिग विश्वविद्यालयबाट उनीले प्राकृतिक विज्ञानमा विद्यावारिधि (पीएचडी) पूरा गरेका छन्। इरास्मस मुन्डस छात्रवृत्तिमा जर्मनी, नर्वे र फ्रान्सका विश्वविद्यालयहरूबाट एड्भान्स्ड स्पेक्ट्रोस्कोपी इन केमिस्ट्रीमा स्नातकोत्तर गरेका छन्।
पोखरा विश्वविद्यालयबाट फार्मेसी विषयमा स्नातक गरेका भण्डारीले शिक्षण, अनुसन्धान र प्रशासनलाई सँगसँगै अघि बढाएका छन्। पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई जिपास्टको कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए। त्यसपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारले जिपास्ट खारेज गरिदिएको थियो। जिपास्टमा उनले प्रशासनिक संरचना विकास, कर्मचारी भर्ती प्रणाली सुधार, वैज्ञानिक प्रयोगशाला स्थापना र गण्डकी प्रदेशको विज्ञान तथा प्रविधि नीतिको मस्यौदा निर्माणमा नेतृत्व दिएका थिए।
डा. भण्डारी औषधि विज्ञान, विश्लेषणात्मक रसायनशास्त्र, खाद्य सुरक्षा, मेटाबोलोमिक्स, लिपिडोमिक्स, प्रोटियोमिक्स र उच्चस्तरीय मास स्पेक्ट्रोमेट्री इमेजिङका विज्ञका रूपमा परिचित छन्। उनका ४० भन्दा बढी अनुसन्धान लेख प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्। हाल उनी त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यावारिधि तहका अनुसन्धानार्थीहरूको सह–सुपरिवेक्षकका रूपमा कार्यरत छन्। विश्वविद्यालय प्रशासन, अनुसन्धान व्यवस्थापन, स्रोत परिचालन, नीति निर्माण र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमा अनुभव हासिल गरेका डा. भण्डारीको नियुक्तिले गण्डकी विश्वविद्यालयको शैक्षिक र अनुसन्धान क्षमतामा थप मजबुती आउने अपेक्षा गरिएको छ।






